गाउँ पर्यटनका नायक क्याप्टेन रुद्रमान गुरुङको सम्झना

0
40

गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) पोखरा शाखाले आइतबार पोखरामा नेपालमा होमस्टेसहित गाउँ पर्यटनको अबधारणा भित्र्याउने अगुवा क्याप्टेन रुद्रमान गुरुङको योगदानमाथि चर्चा गरेको छ। गुरुङको प्रथम वार्षिकि तिथिमा आयोजित कार्यक्रममा उनलाई ‘गाउँ पर्यटनका नायक‘का रुपमा सम्झना गरियो। उनको ८६ वर्षको उमेरमा विसं २०७२ फागुन १५ गते निधन भएको थियो। भारतीय सेनाका रिटायर्ड क्याप्टेन गुरुङले विसं २०५४ देखि स्याङजाको सिरुबारीमा होमस्टे सहित गाउँ पर्यटन सुरु गरेका थिए।

त्यसकै सिको गर्दै आज देशभर होमस्टेको लहर चलेको छ। सिरुबारीका १७ घरमा होमस्टे गराइन्छ। कार्यक्रममा पत्रकार अमृत भादगाउँलेले राज्यले भन्दा अगाडि रुद्रमानले होमस्टेसहित गाउँ पर्यटन अबधारणा भित्रएर पर्यटनमा नयाँ आयाम थपेको बताए। उनले गाउँलेहरुले आफ्नै बलबुतामा विकास गरेको होमस्टेलाई पर्यटन कार्यालयमा दर्ता र रिन्यू गर्न समस्या भैरहेको उदाहरण सुनाए। पर्यटन कार्यालयहरु गाउँले मैत्री हुनुपर्नेमा उनले जोड दिए। त्यस अबसरमा नेपाल पर्यटन बोर्ड पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले गाउँ पर्यटनका लागि पश्चिमाञ्चल क्षेत्र उर्बर रहेको चर्चा गर्दै पर्यटनकर्मीेले होटल र होमस्टेलाई प्रतिस्पर्धीका रुपमा बुझ्न नहुने बताए। उनले भने, ‘ पोखरा सेरोफेरोका गाउँमा एक रात बसेर फर्कँदा ति पर्यटक अर्को रात पोखराका होटलमा पनि बस्छन्।‘ भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले पश्चिम क्षेत्रको गाउँ पर्यटन विकासका लागि हातेमालो गर्न सबैसँग आग्रह गरे। उनले पश्चिमाञ्चलको गाउँ पर्यटन विकासमा काम गर्ने दुई जना पत्रकारलाई भिटोफले बर्सेनी रुद्रमान गुरुङ स्मृती गाउँ पर्यटन पत्रकारिता पुरस्कार दिने जानकारी गराए।

पुरस्कार राशी जनही ११ हजार १ सय ११ रुपैयाँ हुनेछ। कार्यक्रममा प्राध्यापक डा. प्रेम शर्मा, बरिष्ठ पर्यटनकर्मीहरु बासु त्रिपाठी, गणेश भट्राई, पोखरा पर्यटन परिषदका उपाध्यक्ष चिरञ्जीवि पोखरेल लगायतले गाउँ पर्यटन र रुद्रमानको योगदानबारे बोलेका थिए।  

प्रतिक्रिया दिनुहोस