उत्तर कोरिया र अमेरिकाको चमत्कार

0
10

अमेरिका र उत्तर कोरियाका नेताहरूबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता अपेक्षा गरिएभन्दा सफल भएको मानिएको छ । कुनै समय असम्भव मानिएको जुन १२ को वार्ता आज सफलतापूर्वक सम्पन्न गराएर उत्तर कोरिया र अमेरिकाले नयाँ सम्बन्धको सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन् । सिंगापुरमा सन् २०१८ को जुन १२ मा हुने तय भइसकेपछि पनि वार्ता स्थगित गरिएको थियो । यसैले शिखर वार्ता नहुँदासम्म धेरैले विश्वास गर्नै सकेका थिएनन् । सिंगापुरमा भएको शिखर वार्तापछि राष्ट्रपति ट्रम्प र अध्यक्ष किमले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् ।

संयुक्त वक्तव्यमार्फत् अध्यक्ष किमले आणविक निरस्त्रीकरणका पक्षमा दृढ प्रतिबद्धता र राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति प्रकट गरेका छन् । अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध स्थापना, कोरियाली प्रायःद्विपमा स्थायी शान्ति, कोरियाली प्रायःद्विपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने अप्रिल २७, २०१८ को पानमुनजोम घोषणाप्रति प्रतिबद्धता तथा युद्ध बन्दी तथा बेपत्ता परिएका एक अर्काका नागरिकलाई खोजी गरी र फिर्ता पठाउने सहमति दुई नेताबीच भएको छ । फलस्वरूप, राष्ट्रपति ट्रम्प र अध्यक्ष किमबीचको शिखर वार्तालाई धेरैले अपेक्षा गरेभन्दा बढी सफल मानेका छन् । अर्थात्, मंगलवार सिंगापुरमा समसामयिक कूटनीतिमा एउटा चमत्कारै भएको देखियो ।

उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देश र जनताका लागि एउटा महत्वपूर्ण कदम चालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। ऐतिहासिक शिखर सम्मेलन पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले किमसँगको वार्ताबाट परिवर्तन सम्भव रहेको कुरा पुष्टि गरेको बताएका हुन्। यस्तै ट्रम्पले किमलार्इ उपयुक्त समयमा वासिङ्गटन भ्रमणको निम्तो दिने समेत बताएका छन्। पत्रकारहरुको प्रश्नको जवाफ दिँदै ट्रम्पले आफू पनि प्योङयाङ जानसक्ने बताए। यस्तै अमेरिका र उत्तर कोरियाबीच अब नयाँ इतिहास र सम्बन्धको विकास हुने ट्रम्पको भनाइ थियो। उत्तर कोरियाका किमले पूर्ण निशस्त्रीकरणका लागि प्रतिवद्ध रहेको समेत जानकारी ट्रम्पले दिए।

सन् १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेपछि ३ वर्षभन्दा बढी चलेको कोरियाली युद्धको अझै आधिकारिक अन्त्य भइसकेको छैन । दक्षिण कोरिया शीतयुद्ध समाप्त भएपछि पनि अमेरिकाको भरपर्दो रणनीतिक साझेदार रहिआएको छ । उत्तर कोरियाले कोरियाली प्रायःद्विपमा अमेरिकी सैनिक उपस्थितिको सधैँ नै विरोध गर्दैआएको छ ।राष्ट्रपति ट्रम्प र अध्यक्ष किमको शिखर वार्ता सफल हुँदा त्यसका मूल सूत्रधार दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सायद सबैभन्दा बढी खुसी भएको हुनुपर्छ । ‘चिन्ता र खुसीले रातभर निदाउन नसकेको‘ भन्ने अभिव्यक्तिले राष्ट्रपछि मुनको मनोदशाको झलक दिएको छ । दुई कोरियाबीच वार्ता र शान्तिका पक्षधर मानिने राष्ट्रपति मुनले केही महिना पहिले अध्यक्ष किम र लगत्तै राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस