प्रदेश ४को काँग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली

0
31

नेपाली काँग्रेसले ४ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । शनिबार पोखरामा वसेको काँग्रेस संसदीय दलको करिब ४ घण्टा लामो बैठकले दलको नेतामा नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद कृष्णचन्द्र नेपाली पोख्रेललाई चयन गरेको हो ।

बैठकले दलको नेतासँगै उपनेता, प्रमुख सचेतक, सचेतक र सार्वजनिक लेखा समितिका सभापति निर्विरोध चयन गरेको काँग्रेस सांसद कुमार खड्काले जानकारी दिए ।दलको उपनेतामा स्याङजाका मेखलाल श्रेष्ठ र प्रमुख सचेतकमा वाग्लुङका मणिभद्र शर्मा कँडेल चयन भएका छन् । यस्तै, सचेतकमा नवलपरासीकी ओमकला गौतम चयन भइन् ।

बैठकले संसदमा रहेका ४ विषयगत समिति मध्ये नेपाली काँग्रेसको भागमा परेको सार्वजनिक लेखा समितिको सभापतिमा कास्कीका कुमार खड्कालाई पठाउने निर्णय गरेको छ । दलका नव निर्वाचित उपनेता मेखलाल श्रेष्ठका अनुसार दलको सचिवमा पर्वतकी ललितकला गुरुङ र कोषाध्यक्षमा सरिता गुरुङ चयन भएकी छन् । प्रदेश ४ मा कुल ६० मध्ये काँग्रेसका १५ सांसद रहेका छन् । यसअघि संसदीय दलको नेतामा कृष्ण चन्द्र नेपाली पोखरेल, मणिभद्र शर्मा कँडेल, कुमार खड्का र विन्दुकुमार थापाले दावी गरेपछि दलको नेता चयन हुन सकेको थिएन । शनिवार वसेको बैठकमा सवै सांसदहरुको राय अनुसार पदहरुको बाँडफाँट सहमतिका आधारमा गरिएको उपनेता श्रेष्ठले जानकारी दिए ।

संसदीय दलको नेतामा चयन भएसंगै पोख्रेलले प्रतिपक्षलाई हेर्ने सरकारको नजर अनुसार काँग्रेसका गतिबिधि अगाडि बढ्ने बताएका छन् । उनले सरकारका राम्रा कामलाई समर्थन र सहयोग गर्ने बताउँदै अधिकार दुरुपयोग गरिए आफूहरुले रोक्न लागिपर्ने प्रतिक्रिया दिए । सरकारलाई जिम्मेवार प्रतिपक्षका रुपमा रचनात्मक सहयोग गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस