एमाले तर्फ बाट द्वारिका श्रेष्ठको गोकर्णेश्वर न.पा. वडा नं. १ को वडा अध्यक्षमा उम्मेदवार

0
73

पञ्चायती शासन व्यवस्थाको उत्तरार्ध तिर आइपुग्दा द्धारिका श्रेष्ठ मात्र १० कक्षाको विद्यार्थी हुनुहुन्थ्यो । उहाँ निर्दलीय पञ्चायती व्यवस्था हराई बहुदलीय शासन व्यवस्थाको पक्षमा सानै देखि वकालत गर्दै हिँड्न सुरु गर्नु भयो । वि.सं. २०४६ सालमा बहुदलीय शासन व्यवस्थाको विजारोपण भयो, प्रजातन्त्रको पुर्नःप्राप्ति भयो यी हरेक क्रियाकलापलाई द्धारिका श्रेष्ठले नजिकबाट हेरि रहनुभएको थियो । वि.सं. २०५४ सलमा सम्पन्न स्थानीय निर्वाचनमा उहाँ उम्मेदवार हुनुभयो, एउटा रोचक र स्मरणीय पक्ष के छ भने उहाँ त्यस समयमा स्थानीय निकायको प्रतिनिधिमात्र नभएर देशकै कान्छो उम्मेदवार हुनुहुन्थ्यो ।

शान्त स्वभाव, असल चरित्र, इमान्दार, कर्मठ स्वभाव भएका द्धारिका श्रेष्ठ उक्त निर्वाचनमा विजयी हुनु भयो । यसरी कलिलो उमेर देखि नै प्रजातन्त्र, स्थानीय विकास, सहभागितामूलक विकासमा जोड दिँदै आउनुभएका श्रेष्ठले उक्त क्षेत्रको उपाध्यक्ष भई सक्रिय सहभागिता जनाउनु भयो । उहाँ वि.सं. २०५४ सालमा उपाध्यक्षमा निर्वाचित हुनु भए देखि नै हालसम्म लगातार सामाजिक कार्यमा संलग्न हुँदै आइरहनु भएको छ । द्धारिका श्रेष्ठ गा.वि.स. उपाध्यक्ष हुनु भन्दा अगाडि सम्म गा.वि.स. कार्यालय भाडामा लिइएको थियो, उहाँ स्वयम् द्धारिका श्रेष्ठको पहलमा गा.वि.स भवनको निर्माण भयो । उक्त क्षेत्रमा धुलाम्य र हिलाम्य हुने सडकलाई ढलान गराउनु भयो त्यसै गरी स्थानीय स्तरमा खानेपानीको समस्या हटाउन महत्वपूणर्् योगदान दिनुभएको थियो । स्थानीय पर्यटक प्रर्वद्धन गर्ने, स्थानीय स्तरमा सरसफाईका कामहरू अगाडि बढाउने, स्थानीय शान्ति स्थापना तथा न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

देशकै नमूना वडा बनाउने मुख्य लक्ष्यः

द्धारिका श्रेष्ठ आफैँमा मुल्यको राजनीतिमा जोड दिने नैतिकवान, इमान्दार, समाजसेवी, विवेकशील, कर्मठ र दृढ स्वभावको व्यक्तित्व हुनुहुन्छ । गोकर्णेश्वर न.पा. वडा नं. १ को सम्पूर्ण मतदाताहरू भाग्यमानी यस अर्थमा हुनुहुन्छ की उहाँहरूले एक असल नेतृत्व पाउँदै हुनुहुन्छ । आफु वडा अध्यक्षमा विजयी भएको खण्डमा गोकर्णेश्वर न.पा. वडा नं. १ लाई देशकै नमूना र समृद्ध वडाको रुपमा विकास गर्ने प्रतिबद्धता गर्नु भएको छ उहाँले ।
प्रकृतिको सुन्दर अनि अनुपम वातावरणमा रहेको यस क्षेत्रलाई प्राकृतिक र सांस्कृतिक पहिचानको सम्मान र संरक्षण गर्दै नमुना वडा बनाउने योजनामा हुनुहुन्छ उहाँ । तत्कालै अर्गानिक कृषि उत्पादन कार्यमा जोड दिन सकिने उहाँले बताउनुभयो । यो ठाउँ ऐतिहासिक महत्वको ठाउँ पनि हो । बाग्मतीको उद्गम भएकोले प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्वलाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने पक्षमा हुनुहुन्छ द्धारिका श्रेष्ठ । साथै यस क्षेत्रमा सुन्दर ढुङ्गाहरू पाइने भएकाले ‘रक गार्डेन’का रुपमा विकास गर्ने लक्ष्य राख्नु भएको छ । साथै यस क्षेत्रमा जेष्ठ नागरिक पार्क निर्माण गर्ने द्धारिका श्रेष्ठको लक्ष्य रहेको छ । साथै उक्त क्षेत्रमा बालबालिकाको सकारात्मक सोचाइ विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ ।
त्यसै गरी उहाँ विजयी भएको खण्डमा स्थानीय सरसफाइमा जोड दिँदे प्लाष्टिक मुक्त क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय उद्यमीकरणलाई प्रोत्साहन दिने, स्थानीय रोजगारी विकास गर्ने, सामाजिक न्याय प्रर्वद्धन गराउने, सामाजिक सद्भाव र एकता कायम राख्न प्रयत्नशील रहने, स्थानीय धार्मिक – सांस्कृतिक महत्वको सम्पदाहरू संरक्षण, संर्वद्धन तथा अभिलेखीकरण गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । स्थानीय उत्पादनलई महत्व दिने ग्रामीण पर्यटकलाई प्रोत्सहन गर्ने र समग्र वडा नं. १ का नागरिकको जिवनस्तर उठाई देशको नमुना वडाको रुपमा स्थापित गराएरै छाड्ने प्रतिबद्धता जाहेर गर्नुहुन्छ द्धारिका श्रेष्ठ । त्यसैगरी लाङटाङ हिमाल सम्मको यात्राको लागि उपयोग हुने मार्गलाई थप व्यवस्थित गर्दै यस क्षेत्रका नागरिकले पर्यटनका माध्यमबाट लाभ लिन सक्ने बनाउने, यो क्षेत्र सुन्दरीजल राष्ट्रिय निकुञ्जको क्षेत्र यहि पर्ने भएकोले मानव बस्तीलाई थप व्यवस्थित बनाउँदै लैजाने योजना रहेको बताउनु भयो । साथै ओखरेनी, मुलखर्कका धेरै युवाहरू विदेशिनु भएको छ । विदेश पलायनलई न्यूनिकरण गर्दै युवालाई यसै क्षेत्रमा उत्पादनशील बनाउने लक्ष्य राख्नुभएको छ द्धारिका श्रेष्ठले ।

मतदाताहरूलाई द्धारिका श्रेष्ठको अनुरोध :

स्थानीय निर्वाचनमा स्थानीय प्रतिनिधिहरू छानिने निर्वाचन हो । उहाँ २०४५ साल देखि निरन्तर सक्रिय रहनुभएकोले सम्पूर्ण नागरिकहरूले स्वविवेकले उहाँले आफूलाई भोट हाल्न सम्पूर्ण मतदातालाई अनुरोध गर्नु भएको छ । सधैँ भरी सामाजिक सेवामा नै तल्लीन रहँदा रहँदा आज सम्मका दिनहरू बितेका र अबको बाँकी दिनहरू समेत त्यही क्षेत्रको सेवामा बिताउन चाहन्छु भनी अनुरोध गर्नु भएको छ । आफुले चुनाव जितेको अवस्थामा माथि उल्लेख गरिएका सबै प्रतिबद्धताहरू कार्यान्वयन गर्दै यस क्षेत्रलाई देशकै नमुना र विकसित वडा बनाउने प्रतिज्ञा गर्नु भएको छ ।

अन्त्यमा,

अन्त्यमा गोकर्णेश्वर न.पा. वडा नं. १ का वडा अध्यक्ष उम्मेदवार श्री द्धारिका श्रेष्ठ एक अनुभवी र नैतिकवान राजनीतिज्ञ हुनुहुन्छ । उहाँले समग्र वडाको नेतृत्व लिन सक्ने क्षमता रहेको पाइयो । कुराकानीको क्रममा मुलखर्क, ओखरेनी, चिसापानी, लगायत समग्र क्षेत्रको आर्थिक, सामाजिक, विकासमा नेतृत्व लिने क्षमता रहेको पाइयो । मूलतः शिक्षा, स्वास्थ्य, पर्यटन, बाटोघाटो, खानेपानी, सामाजिक न्याय र समानताको क्षेत्रमा सचेत र विज्ञ हुनुभएकोले त्यस वडाका सबै नागरिकहरूले उहाँ द्धारिका श्रेष्ठलाई मतदान गर्दछन् भन्ने विश्वास राख्नु भएको पाइयो । उहाँले सम्पूर्ण वडा वासीलाई आफुलाई मतदान गरी समृद्ध वडाको साझेदारी लिन अनुरोध गर्नुभएको छ । उम्मेदवार द्धारिका श्रेष्ठलाई हाम्रो पनि शुभकामना ।