भावी अध्यक्षमा कमल थापा र महामन्त्रीमा सुनिल थापाको पल्ला भारी

0
6

फागुनको दोस्रो साताको मध्यान्तरमा संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ नेतृत्व पाउनेछ । स्थापनाको २६ वर्षमा ६ पटक विभाजन हुँदै जोडिँदै गरेको यो ‘कन्जरभेटिभ’ पार्टीको कमाण्ड अब कसको हातमा जान्छ ? राष्ट्रिय राजनीतिमा पनि यो प्रश्नले ठाउँ पाइरहेको छ ।फागुन ६ गतेदेखि काठमाडौंमा शुरु हुने महाधिवेशनका लागि करीव ३५ सय प्रतिनिधि चुन्ने काम भइरहेको छ । शुक्रवारसम्म अधिकांश जिल्ला र क्षेत्रका अधिवेशनहरु सकिएका छन् । सहायक महामन्त्री राजेश गिरीका अनुसार गाउँदेखि जिल्लासम्मको गठन प्रक्रिया सकेर अब महाधिवेशन प्रतिनिधिको अन्तिम छनौट प्रक्रिया भइरहेको छ ।

यसबीचमा राष्ट्रिय अध्यक्ष पशुपति शमसेर जबरा सिन्धुपाल्चोकबाट र अध्यक्ष कमल थापा मकवानपुरबाट महाधिवेशन प्रतिनिधि चुनिइसकेका छन् । राप्रपाका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरु पनि गाउँदेखिनै चुनिएर महाधिवेशन प्रतिनिधि हुन पाउने बिधानमा व्यवस्था रहेको सहायक महामन्त्री गिरीले बताए । जिल्ला अधिवेशन र क्षेत्रीय अधिवेशनपछि राप्रपाको भावी अध्यक्षमा कमल थापाको पल्ला भारी भएको उनीनिकट कार्यकर्ताहरुले चर्चा चलाइरहेका बेला डा. प्रकाशचन्द्र लोहनी प्रतिस्पर्धीका रुपमा देखिएका छन् । यद्यपि पशुपति शमसेर जबराले मैदान छाडेको घोषणा भने गरिसकेका छैनन् ।

विक्रमवहादुर थापा राप्रपा काठमाडौंका जिल्ला अध्यक्ष निर्वाचित भए लगत्तै काठमाडौं जिल्ला कार्यसमितिले भावी अध्यक्षमा कमल थापालाई सघाउने औपचारिक निर्णय गरेपछि अरु नेताहरु झस्किएका छन् । अन्य जिल्लाबाट पनि कमल थापाको पक्षमा निर्णय आउन थालेका छन् । स्रोतका अनुसार एकीकरण अघिको राप्रपाका सबै नेताहरु एकढिक्का हुँदा कमल थापासँग प्रतिस्पर्धा दह्रो हुनसक्छ । तर उनीहरु एकढिक्का नहुने हो भने थापाको पल्ला भारी देखिएको छ । कमल थापालाई टक्कर दिने उम्मेदवार अर्को पक्षले खडा गर्न नसक्दा उनी निर्विकल्प नेता जस्ता देखिएका छन् ।

कतिपयले कमल थापा र सुनिलवहादुर थापाबीच अनौपचारिक सहमति भइसकेको दावी समेत गरेका छन् । पूरानो राप्रपावाला कार्यकर्ताको भावना समेट्ने र सूर्यवहादुर थापाको लिगेसी पनि आफूसँग देखाउने उद्देश्यले कमल थापाले सुनिल थापालाई आफ्नो प्यानलको महामन्त्री उम्मेदवार बनाउन सक्ने अड्कलबाजी समेत भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस