आज अन्तर्राष्ट्रिय योग दिवस मोक्ष प्राप्ति एवं इन्द्रियको नियन्त्रणको लागि योग जरुरी

0
11

आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २१ जुनमा विश्वभर योग दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा शुक्रबार बिहान अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताएका छन् ।

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार यहाँ आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीका पुर्खा ध्यानका सर्जक भएकाले नेपाललाई विश्व ध्यान केन्द्रका रुपमा स्थापना गर्नुपर्ने बताए । वाल्मीकि, विश्वामित्र, वशिष्ठ, व्यासजस्ता ऋषिमुनिले नेपालभूमिमै साधना गरेकाले यो तपोभूमि, ज्ञानभूमि एवं शान्तिभूमिका रुपमा विश्वमा परिचित भएको उनले बताए । केही स्थानमा त्रेतायुगका योगस्थ अवस्थाका मुद्रा भेटिएकाले योगको प्राचीनतालाई प्रमाणित गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । दिनभर ताजारुपमा काम गर्ने क्षमताका लागि समय निकालेर योग अभ्यासको परम्परा बसाल्ने सुझाव पनि उनले दिए ।

प्रभातफेरीपछि लाजिम्पाटस्थित ला शेर्पा रेष्टुरेन्ट परिसरमा योगाभ्यास समेत गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत राखेको छ । योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने योग गुरुहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस