नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रतिवद्धतामाथि प्रश्न उठायो ।

0
6

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधानप्रति प्रधानमन्त्रीको प्रतिवद्धतामाथि प्रश्न उठाएको छ । बजेट अधिवेशनको पहिलो दिन सोमबार संसदलाई सम्बोधन गर्दै विपक्षी दलका दलका नेता शेरबहादुर देउवाले सरकार संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक, गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउने दिशा उद्यत भएको आरोप लगाए ।

सेना परिचालनको निर्णय संवैधानिक परिषदबाट खोसेर प्रधानमन्त्रीमा ल्याउन खोजेको भन्दै उनले यो प्रत्युपादक हुने बताए । ‘सबै तहका राज्य संरचनाको अधिकार आफूमा केन्द्रीत गरेर चाडै विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’ न्याय, समृद्धि र विकासका लागि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको भन्दै देउवाले भने, प्रधानमन्त्री संविधानप्रतिको तपाईको प्रतिबद्धता विगतको इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्नुस् । मेरो तपाईलाई यही शुभकामना छ ।’

सरकारमाथि आरोपै आरोप

देउवाले सरकारमाथि सरकारले १४ महिनामा देखाउन लायक र जनतालाई आशा जगाउने एउटा पनि काम गर्न नसकेको आरोप लगाए । यसले जनतामा निराशा छाएको उनले बताए । प्रधानमन्त्रीले समृद्धि यात्रामा मुलुकलाई निर्वाध रुप अघि बढाउने जनताको अपेक्षा भएपनि सरकारले अभूतपूर्व ऐतिहासिक अवसरलाई खेर फालेको देउवाले बताए । उनले भने, ‘अवोध बालिका निर्मला पन्तको बलत्कार र हत्या गर्ने अपराधि अहिलेसम्म सरकारले फेला पारेको छैन । आम नागरिकबीच यस विषयमा सरकारको नियत प्रति आशंका उब्जिएको छ ।’

शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको, पुँजीगत खर्च निराशाजनक भएको उनको दाबी छ । विगतका सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको हुँ भनी झूठ प्रचार गर्नबाहेक सरकारले उल्लेखनीय काम गर्न सकेन’ उनले भने ।

नेपालकै लगानीमा बुढीगण्डकी परियोजना कार्यान्वयन गर्नुको साटो बिना प्रतिस्पर्धा विदेशीलाई सुम्पने प्रपञ्च रचेको, विदेशी अनुदान लक्ष्यअनुसार ल्याउन नसकेको, व्यापारघाटा बढेको उनले बताए । सिद्धान्त, दर्शन, नीति, कानून र कार्यक्रमहरुको प्रष्टता बेगर विदेशी लगानी आकर्षित गर्न वा समृद्धिको यात्रा अगाडि बढ्न सम्भव नभएको भन्दै देउवाले भने, दिनानुदिन ठूल–ठूला भ्रष्टाचारका काण्ड सुनेर नागरिक निराश छन् ।’

वाइडबडी विमान प्रकरणमा अख्तियारले छिट्टै दोषीलाई कानुन कठघराउमा ल्याउनुपर्ने उनको माग छ । बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न खोजेको भन्दै उनले भने, ‘नागरिकको धैर्यको सीमा टुट्न लागेको छ । आउने वर्षमा सरकार यस्ता दुष्कर्ममा नलागोस्, मेरो शुभकामना छ ।’

अब नागरिकले गफ र नारामा होइन, साच्चिकै काम र परिणाममा सरकारको उपस्थिति खोजेको भन्दै कांग्रेस सभापति देउवाले जनअपेक्षा पूरा गराउने सरकारलाई सशक्त दबाब दिइने बताए ।

प्रतिक्रिया दिनुहोस