नयाँ वर्ष २०७६ शुरु विश्वभरी नेपाली नयाँ बर्ष मनाउनेको क्रम बड्दो

0
7

सरकारले नयाँ वर्ष २०७६ वर्षको उपलक्ष्यमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । यस दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं प्रा डा रामचन्द्र गौतमले भने, “सौरमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत् नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत् भनिएको हो ।”

नेपाली पात्रोअनुसार, अघिल्लो वर्षको तुलनामा यो वर्ष सम्मत्सर राम्रो रहेको उनी बताउँछन् । समयसमयमा पानी पर्ने भएकाले यो वर्ष कृषि उत्पादन राम्रो हुनेछ भने राजा शनि र मन्त्री सूर्य ग्रहमा रहेको हुँदा दलबीच भने आवश्यक मेलमिलाप र हार्दिकतामा कमी आउन सक्ने सम्भावना रहेको अध्यक्ष गौतमको भनाइ छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ । यसबाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ । नेपालीहरुको बसोबास भएको पश्चिमा देशहरुमा पनि नेपाली नयाँ बर्ष मनाउनेहरु बढेको छ । अमेरिका, युरोप, अस्ट्रेलिया लगाएतमा समेत नेपाली नयाँ बर्ष मनाइेको छ ।

प्रतिक्रिया दिनुहोस