शान्तिपूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेसको आग्रह

0
11

नेपाली कांग्रेसले नेत्रबिक्रम चन्द (विप्लव) को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो अनुरोध गरेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वार जारी विज्ञप्तिमा भनिएको छ,’ निषेधको मार्गबाट होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न बैठकले सरकार समक्ष आग्रह गरेको छ । दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुबै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराएको छ ।’

केन्द्रीय अनुशासन समितिलाई पूर्णता दियो
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार श्री भीष्मराज आङ्दम्वेको संयोजकत्वमा गठित “केन्द्रीय अनुशासन समिति’ को बाँकी रहेको दुई सदस्यहरुमा प्रस्तावित श्री उमाकान्त चौधरी र श्री धनराज गुरुङलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

नियमावली मस्यौदा समिति गठन
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २२ (६) अनुसार देहाय बमोजिमको “पार्टी नियमावली मस्यौदा समिति” सर्वसम्मतिले गठन गरेको छ । जसमा
संयोजक — श्री रमेश लेखक
सदस्य — श्री मीन विश्वकर्मा
सदस्य — श्री जीवन परियार
सदस्य — श्री ईश्वरी न्यौपाने
सदस्य — श्री प्रदीप पौडेल

केन्द्रीय निर्वाचन समिति गठन नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३५ (१) अनुसार देहाय बमोजिमको “केन्द्रीय निर्वाचन समिति” सर्वसम्मतिले गठन गरेको छ । जस अनुसार—
संयोजक — श्री राधेश्याम अधिकारी
सदस्य — श्री गोपालकृष्ण घिमिरे
सदस्य — श्री खम्मबहादुर खाती
सदस्य — श्री सिताराम के.सी.
सदस्य — श्री एकराज पोखरेल

मुलुकभर अत्यन्त हर्षोल्हासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटो तर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्दै यस सुखद अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजु–भाइहरुमा कार्यसमितिको बैठकले हार्दिक शुभ–कामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस