पत्नीको उपचारका गर्न भन्दै प्रचण्ड अमेरिका लागे

0
8

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका प्रस्थान गरेका छन् । श्रीमती सीता दाहालको उपचारका लागि उनी त्यसतर्फ गएका हुन् । आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताए ।

पत्नी सीताको उपचारका लागि परराष्ट्र मन्त्रालय र यहाँस्थित अमेरिकी दूतावास एवम् अमेरिकास्थित नेपाली दूतावासले सहजीकरण गरेको पनि उनले जानकारी दिए। अमेरिकामा बस्ने नेपालीले सीताको स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि वासिङटन बाल्टिमोरलगायत स्थानमा नयाँ अनुसन्धान भइरहेको जानकारी गराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीमा सल्लाह गरेर नै आफू त्यसतर्फ जान लागेको उल्लेख गर्दै उनले बढीमा सातदेखि दश दिनभित्र स्वदेश फर्कने उनले जानकारी दिए। यदि नसकिएमा सीतालाई छोरी गंगाको जिम्मामा छाडेर आफू स्वदेश फर्किने प्रचण्डले बताए ।

मुख्यतः आफू सीताको स्वास्थ्य उपचारका लागि गए पनि त्यहाँ रहँदा राजनीतिक भेटघाटको सम्भावना औँल्याउँदै उनले भने, “परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सरकारका अधिकारीसँग औपचारिक वा अनौपचारिक छलफल हुने सम्भावना बढेको छ ।” विमानस्थलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपाका नेता तथा कार्यकर्ता अध्यक्ष दाहालको बिदाइका लागि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस