नयाँ बर्ष २०७६ देखी पोखराका बसमा ई-टिकट

0
19

पोखराभित्र चल्ने बसमा बैशाखदेखि विद्युतीय टिकट प्रणाली ( इटिकेटिङ सिस्टम) लागू गर्ने भएको छ । बसमा यात्रा गर्दा टिकट र कार्ड प्रणाली लागू गर्न आइतबार पोखरा महानगर, पोखराका बस व्यवसायी र काठमाडौंको एनक्लाउड कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागू गर्न सम्झौता गरेका हुन् । व्यवसायी समितिले विद्युतीय टिकट प्रणाली लागू भएपछि प्रत्येक यात्रुलाई बिशेष प्रकारको कार्ड उपलब्ध गराउनेछन् । उक्त कार्ड मूल्य १ सय ५० रुपैयाँ पर्ने र त्यसमा १ हजार रुपैयाँसम्म रिचार्ज गर्न सकिने सुविधा हुनेछ । ‘यात्रुले पाएको कार्ड गाडीका सहचालकसँग भएको मेसिनमा घुसाएपछि जीपीएसका आधारमा भाडा स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ,’ एनक्लाउडका सीईओ दीपेन्द्रनारायण श्रेष्ठले भने ।

व्यवसायीलाई विद्युतीय टिकट मेसिन चलाउने तालिम पनि आफैं नै दिने र त्यसवापत प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँ उठाउने कम्पनीसँग सम्झौता भएको छ । सिईओ श्रेष्ठले प्रारम्भिक चरणमा पोखराका ८ सय बसमा प्रविधि जडान गर्ने जानकारी दिए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विद्युतीय टिकट प्रणालीले यात्रुलाई सहजका साथै समयको बचत हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस