विखण्डनको बिदाइसँगै हिन्दुत्वको एजेन्डा सहित मधेसमा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत

0
19

तराई मधेसमा हवाइमार्ग वा स्थलमार्गबाट प्रवेश गर्नासाथ सिके राउत होइन पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहका बारेमा चाहिँ चर्चा चलिरहेको छ । ढल्केबर र महेन्द्रनगरबाट जनकपुर प्रवेश गर्ने ठाउँ–ठाउँमा पूर्वराजाको जयजयकार गर्दै ब्यानर तथा होर्डिङबोर्ड लगाइएका छन् ।

जनकपुर शहरभित्र पनि ठाउँठाउँमा पूर्वराजाको स्वागतमा ब्यानर टाँगिएका छन् । पृथकतावादको विदाइसँगै पूर्वराजाको स्वागतमा मधेसमा देखिएका तुल ब्यानरहरुले मधेसमा पृथकतावादको विदाइभोजसँगै हिन्दुत्वको स्वागतद्वार खुल्ने अर्को संकेत गरेको छ ।

गतसाता आमा रत्नराज्यलक्ष्मी देवी शाह बिरामी परेका कारण रोकिएको पूर्वराजा ज्ञानेन्द्रको मधेस तीर्थाटन बुधवारबाट शुरु हुँदैछ । उनी स्थलमार्गबाट झापाको बाटो हुँदै साँझ जनकपुर आउने कार्यक्रम रहेको भ्रमण व्यवस्था गरिरहेका आयोजकले बताएका छन् ।

प्रदेश २ को राजधानी जनकपुरलाई केन्द्र बनाएर पूर्वराजाले सर्लाही, धनुषा, उदयपुर, सिरहा र सप्तरीका शक्तिपीठहरुमा पुजाअर्चना गर्ने कार्यक्रम रहेको शिव सेनाका राष्ट्रिय अध्यक्ष अनिल बस्नेतले बताए । बस्नेतको नेतृत्वमा शिव सेनाको टोली पनि अहिले जनकपुरमा खटिएको छ । पूर्वराजाले जनकपुरका समर्थकहरुसँग होटल परिसरमै सामुहिक भेटघाटको तयारी गरिएको छ ।

रामजानकी मन्दिरमा पूर्वराजाको पूजाअर्चनाको तयारी जुन ढंगले गरिदैछ, बरु यहाँ बिखण्डनको होइन, हिन्दूत्वको एजेण्डा चर्चामा छ । पश्चिम तराईको भ्रमणपछि पूर्वी तराईमा केन्द्रित रहेका पूर्वराजा जनकपुर आउने कुराले यहाँका सन्त महन्थहरुलाई तरंगित पारेको छ । रामजानकी मन्दिरमा उनले विशेष पूजा अर्चना गर्ने भएकाले तयारी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस