विप्लव नेकपा माथि सरकारको प्रतिबन्ध खारेज गर्न वैद्यको माग

0
9

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले लगाएको प्रतिवन्धको विरोध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले गरेको छ।

महासचिव वैद्यले वक्तव्य जारी गर्दै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फिर्ता लिनसमेत माग गरेका छन्। बक्तब्यमा भनेका छन् ‘केही समययता सरकारद्वारा नेकपा विप्लव समूहका नेताकार्यकर्ताहरुलाई व्यापक रुपमा धरपकड गर्ने तथा यातना दिने गरिएका कुरा सार्वजनिक भएका छन्। भर्खरै सरकारद्वारा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाइएको कुरा समेत सार्वजनिक गरिइएको छ,’ वक्तव्यमा अगाडि भनिएको छ, ‘आफूलाइ कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समुहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ। अतः हाम्रो पार्टी सरकारको यस प्रकारको फासिवादी गतिविधिको तथा व्यवहारको कडा विरोध तथा भत्र्सना गर्दै राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारसित विशेष माग गर्दछ।’

यसैबीच क्रान्तिकारी माओवादीले सरकारले राजनीतिक समस्यालाई प्रशासनिक रुपमा हल गर्न खोजेको आरोपसमेत लगाएको छ। मंगलवार क्रान्तिकारी माओवादीको स्थायी कमिटीको बैठक बसेको थियो। बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको वक्तव्यमा देशमा विद्यमान राजनीतिक समस्याहरुको समाधान राजनीतिक रुपमा नभई प्रशासनिक रुपमा गर्न ओली सरकारले लिएको निर्णय र तत्पश्चात् सञ्चालित गतिविधिले देखाएको भन्दै विरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस