गृहमन्त्री थापाको स्पष्टिकरणः जनमत संग्रह गर्ने सहमति भएको छैन

0
6

गृहमन्त्री रामबहादुर थापाले स्वतन्त्र मधेस गठबन्धनसँग स्वतन्त्र मधेश निर्माण गर्ने गरि जनमत संग्रह गर्ने सहमति नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको तर्फबाट थापाले समय मागेर बोल्दै मधेसलाई नेपालबाट अलग गरि स्वतन्त्र मधेस निर्माण गर्ने कोणबाट कुनै सहमति नभएको स्पष्ट पारेका हुन् । जनअभिमतको अर्थ जनमतसंग्रह नभएको भन्दै उनले स्वतन्त्र मधेस निर्माण गर्ने माग लाई सरकारले मानेको छ भन्ने सांसदहरुको विश्लेषण गलत भएको दाबी गरे ।

जनमत संग्रहमा कुनै सहमति नभएको भन्दै उनले सिके राउतले जनमत संग्रह नै हो भन्नुहुन्छ भने त्यो सहमति विपरित हुने बताए । सहमतिमा उल्लेख भएको शब्द जनअभिमतलाई जनमत संग्रहका रुपमा व्याख्या गर्न खोजिएको भन्दै उनले शब्दको मर्म विपरित भ्रम श्रृजना गर्ने काम भएको दाबी गरे । सहमति गर्दा शब्दहरुमा सरकार चिप्लिएको भन्ने गम्भीर आशंका गर्नु केबल भ्रम मात्रै भएको टिप्पणी उनले गरे ।

सरकार राष्ट्रिय अखण्डतालाई रक्षा गर्न कटिबद्ध रहेको पनि उनले स्पष्ट पारे । स्वतन्त्र मधेस गठबन्धनसंग भएको राजनीतिक सहमति ऐतिहासिक सहमति भएको र यसले राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताको रक्षा गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको दाबी गरे ।

राज्यले विखण्डनकारीहरुको अगाडि आत्मसर्मपण गर्यो भन्दै सदनबाट नै सरकारका विरुद्ध आरोप आएको भन्दै उनले त्यसले आफुहरुलाई आश्चर्यचकित पारेको बताए । उनले भने “कुन कोणबाट किन उठिरहेको छ ? सरकार आश्चर्यचकित छ ।” उनले प्रश्न गरे “स्वतन्त्र मधेस गठबन्धनले स्वतन्त्र राज्यको गठन गर्ने लक्षलाई परित्याग गरि नेपालको राष्ट्रिय अखण्डताको रक्षा गर्नुलाई कर्तव्य बनाएको छ । के यो संविधान विरोधी भयो ? के सरकारले समस्यालाई राजनीतिक रुपले हल गर्नु के यो संविधान विरोधी भयो ? के यो राष्ट्रघाती भयो ?”

प्रतिक्रिया दिनुहोस