राष्ट्रपति भण्डारीद्वारा पोखराको विन्ध्यवासिनी मन्दिर लिफ्ट उद्घाटन

0
11

पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा मन्दिर परिसरमा लिफ्ट निर्माण गरिएको हो । मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगको सहजताका लागि लिफ्ट निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

लिफ्ट उद्घाटन गर्दै सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै भावी पुस्ताको भविष्य निर्माण र पुण्य आर्जन पनि हुने बताईन । धर्मको महत्वपूर्ण पक्ष सेवा भएको चर्चा गर्दै राष्ट्रपतिले सेवाभावबाट अभिप्रेरित हुँदै बिन्ध्यवासिनी क्षेत्र विकास समितिको सक्रियतामा मन्दिर दर्शनका लागि इच्छुक तर भौतिक एवम् शारीरिक रुपमा मन्दिरमा पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी लिफ्ट निर्माण गरेकोप्रति धन्यवाद व्यक्त गरिन।

सुन्दर प्रकृति र विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखराको बिन्ध्यवासिनी मन्दिर ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको पवित्र अनुपमस्थल भएको राष्ट्रपति भण्डारीले बताउदै स्वतःस्फूर्त जागरण, श्रद्धा एवम् आस्थाको भावनाले हाम्रो इतिहास एवम् सांस्कृतिक धरोहरको संरक्षण जनस्तरबाट हुँदै आएको उल्लेख गर्दै बिन्ध्यवासिनीमा धार्मिक क्षेत्र विकास समिति गठनपश्चात् समितिका माध्यमबाट गरिएका संरक्षण र विकासका कामको प्रशंसा गरेकी छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लिफ्ट निर्माणमा सहयोग गर्ने हुण्डाई मोटर कम्पनी दक्षिण कोरियाका प्रतिनिधि उपप्रमुख जोनसोन र लक्ष्मी ग्रुप नेपालका निर्देशक सुनील श्रेष्ठलाई सम्मान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस