राजपाले सरकारलाई दिएको समर्थन फिर्ता

0
19

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। सांसद रेशम चौधरीलाई अजीवन कैदको सजाय सुनाएपछि पार्टीको आज बसेको आकस्मिक बैठकले सरकालाई दिएको समर्थन फिर्ता लिएको राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जानकारी दिए।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ। त्यसर्थ सरकारलाई समर्थन दिईरहनुको औचित्य नरहेकोले राजपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइ आएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ।’

त्यसैगरी शोषण, उत्पीडन र बिभेदका बिरुद्ध, पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत बिचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समूहलाई एकता, मोर्चा एवं सहकार्य गर्न राजपा नेपाल आह्वान गरेको छ। राजपाका महासचिव केशव झाले आफ्ना सांसद चौधरीको मामिलामा विभेदयुक्त निर्णय भएको र त्यसबाट न्यायलय नै विभेदको चंङ्गुलमा फसेको आरोप लगाएका छन् । उनले अब पार्टीको बैठकको निर्णय अनुसार आफूहरु आन्दोलनमा जाने जानकारी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस