पोखरामा एकपछि अर्को प्याराग्लाइडिङ दुर्घटना एककाे मृत्यु

0
15

पोखरामा मंगलबार प्याराग्लाइडिङ खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसियाका डेमिट स्टेफ्यानेस रहेका वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाहले जानकारी दिए । पोखरा महानगरपालिका – १८ सराङकोटबाट उडेका स्टेफ्यानेसको दुर्घटनापछि उपचारको क्रममा मृत्यु भएकाे हो । उनी फ्रन्टिएर्स प्याराग्लाइडिङ कम्पनीको अनुमतिमा उडेका थिए ।

सारङकोटबाट उडेका प्याराग्लाइडिङ बिगत तीन दिनको बीचमा चार दुर्घटना भइसकेका छन् । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गत आइतबार भएको दुर्घटनामा रोमानियाका नागरिक ४२ वर्षीय एब सिस्जरको मृत्यु भएको थियो ।

त्यस्तै, सोमबार उडिरहेका दुई प्याराग्लाइडिङ माछापुच्छ्रे र मादी गाउँपालिकामा दुर्घटना हुन पुगेको थियो । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ ठाँटीमा उडिरहेको प्याराग्लाइडिङको ग्लाईडर बिजुलीको तारमा ठोक्किएर दुर्घटना हुँदा पोल्याण्डका अन्दाजी वर्ष ३७ वर्षीय नागरिक कोरल घाइते भएका थिए । कोरल करेन्ट लागेपछि भुईमा खसेका थिए । उनको स्थानीयले उद्धार गरेका थिए । उनको बायाँ हात जलेको छ । हाल उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार कम्पनीमार्फत सोलो परमिट लिएर प्याराग्लाइडरले रसियन च्याम्पियनशीप गरिरहेका छन् । एक प्याराग्लाइडर भन्छन्, ‘पोखरामा रसियन च्याम्पियनसीप चलिरहेको छ । त्यसैमा भाग लिनका लागि उनीहरु आएका हुन् ।’प्याराग्लाइडरले अवैध च्याम्पियनसीप मात्र गरेका छैनन्, नागरिक उड्डयन प्राधिकरणले तोकेको ठाउँभन्दा बाहिर पनि उडान भरिरहेका छन् । सोमबार दुर्घटनामा परेका रसियन प्याराप्लाइडरले पनि मादी क्षेत्रबाट उडान भरेका थिए । जबकि सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट मात्रै उडान भर्ने अनुमति छ ।

सोलो पाइलटलाई विदेशको लाइसेन्सका आधारमा कम्पनीले सिफारिस गरिदिएपछि परमिट दिन्छ । तर, यहाँको भूगोल र हावापानीका बारेमा भने अभ्यास नगरी, नबुझिकन उडान भर्दा दुर्घटना हुने गरेको व्यवसायी बताउँछन् ।प्याराग्लाइडिङका लागि पोखरेली आकास विश्वकै चर्चित मानिन्छ । करिब २२ वर्ष पहिले परीक्षणपश्चात व्यावसायिक उडान भएको थियो । अनुकुल मौसममा दैनिक करिब ४ सय जनासम्म र वर्षमा २ लाख जनाले अनुमान व्यवसायीहरुको छ ।

यही आकाशमा उड्दाउड्दै १५ जनाले ज्यान गुमाएका छन् तर, आधिकारिक तथ्यांक अनुमति दिने नागरिक उड्डयन प्राधिकरण र प्रहरी दुबैसँग छैन ।

प्रतिक्रिया दिनुहोस