सरकारी दमनको विरोधमा अस्थायी शिक्षकले मंगलवारदेखि पठनपाठ ठप्प पार्ने

0
17
तस्बिर : सामाजिक सन्जाल

विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका सरकारी विद्यालयका अस्थाई र राहत शिक्षकहरुले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएका छन्। आफ्ना माग सम्वोधन नगरि सरकारले उल्टै दमन गरेको भन्दै आन्दोलनरत अस्थाई र राहत शिक्षक संगठन केन्द्रीय समितिले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएको हो।

आइतवार शान्तिपूर्ण प्रदर्शनमा रहेका शिक्षकमाथि प्रहरीले वानेश्वरमा बल प्रयोग गरेको थियो। प्रहरी कार्वाहीमा केही शिक्षक घाइते समेत भएका छन् ।अति राजनीतिकरणको शिकार हुँदै आएको सामुदायिक विद्यालय क्षेत्रमा शिक्षकको लगातारको आन्दोलन र बार्ता जारी रहे पनि हरेक वर्ष कुनै न कुनै सङ्गठनको सडक आन्दोलन र अनशन चल्दै आएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच यही फागुन ९ गते भएको ३१ बुँदे सहमतिमा ‘हाल कार्यरत राहत शिक्षक, साविक उच्च माध्यमिक तहका शिक्षक, प्राविधिक धारका शिक्षक, विशेष विद्यालयका शिक्षक, बाल कक्षाका शिक्षकको शिक्षक पदलाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी एक वर्षभित्र शिक्षक सेवा आयोगबाट आन्तरिक/खुला प्रतियोगितामार्फत एकपटकका लागि उमेरका हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि प्रबन्ध गर्ने’ उल्लेख छ । शिक्षक सेवा आयोगले गत असारमा अस्थायी शिक्षकका लागि आन्तरिक प्रतियोगिता गरेको थियो ।

सहमति कार्यान्वयनका लागि मन्त्रालयले ल्याउने सङ्घीय शिक्षा ऐनको मस्यौदा भइरहेको अवस्थामा अस्थायी परीक्षामा छुटेका, राहत, स्रोत व्यक्ति सट्टा शिक्षक र बाल विकास (इसिडी), साविक उमाविमा कार्यरत शिक्षकका विभिन्न छ वटा सङ्घ/सङ्गठन सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आइतबार र सोमबार माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वरसम्म र्‍याली गरेका छन् । आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि सुरक्षाकर्मीले पानीको फोहरा प्रयोग गरेका थियो ।

प्रतिक्रिया दिनुहोस