दार्चुलामा महाकाली नदीमा जिप खस्दा सात महिलासहित ११ जनाको मृत्यु

0
9

दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन। सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म १ ज २८० नं को जीप महाकाली नदीमा खसेको हो।

सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए। जीप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदी किनारमा खसेको छ ।

घटनास्थल एकदमै भिरालो रहेको र राति पनि भएकाले सुरक्षाकर्मीहरुलाई उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए ।घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । राति ८ बजे जीप दुर्घटना भएको स्थानीयवासी हिक्मतबहादुर वमले बताए। चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो । पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस