भारत नेपाल पाईपलाईन अन्तिम चराणमा

0
11

भारत बाट नेपाल इन्धन आयात गर्न तयार गरिएको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ ।

मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुसार नेपाल तर्फको ३९ दशमलव २ किलोमिटर भू–भाग मध्ये ३०.२ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । पर्सा राष्ट्रिय निकुञ्जको पथलैयादेखि अमलेखगञ्जसम्म नौ किलोमिटर जङ्गलक्षेत्रको बाटोमा पाइप बिछ्याउन बाँकी छ ।

तीव्र गतिमा काम भइरहेकाले बाँकी रहेको क्षेत्रमा चाँडै नै रुख कटान प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको परियोजना इञ्जिनीयर शरदप्रसाद पौडेलले बताएका छन । निकुञ्जको वनक्षेत्रमा केही दिनभित्रै रुख काट्ने काम शुरु गरिने भएको छ । उक्त परियोजना अन्तर्गत निकुञ्ज क्षेत्रभित्र पर्ने ६ हजार ५५३ रुख काटन नेपाल आयल निगम र टिम्बर कर्पोरेशन अफ नेपालबीच केही दिनभित्र सम्झौता हुने बताइएको छ । भारतको मोतिहारीदेखि रकसौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी रक्सौल क्षेत्रमा टुक्राटुक्री काम बाँकी रहेको परियोजना कार्यालयले जनाएको छ ।

नेपालको लाइफलाइनका रुपमा रहेको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि रु ५६० करोड लागत रहेको बताइएको छ । सो पाइपलाइन निर्माणपछि पटनाबाट प्रतिघण्टा २५० लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिने छ । पहिलो चरणमा परीक्षणको रुपमा डिजेल आउने बताइएको छ ।

जमीनमुनी साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल राखिएको र पाइप खिया नलाग्ने आयोजनाले जनाएको छ ।पाइपलाइन विछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखञ्ज आयल निगमको डिपोमा तीन हजार नौ सय किलोलिटर क्षमता भएका चार ट्याङ्कर बनाउने काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस