सरल र सादगी व्यक्तित्वको धनी स्व महेन्द्रनारायण निधि- राष्ट्रपती भण्डारी

0
12

राष्ट्रपति विद्यादेवी भण्डारीले सरल र सादगी व्यक्तित्वको धनी स्व महेन्द्रनारायण निधि सबैका लागि प्रेरणाको स्रोत भएको बताएकी छन् । महेन्द्रनारायण निधि प्रतिष्ठानले स्व निधिको ९७औँ जन्मजयन्तीको अवसर पारेर सोमबार आयोजना गरेको एक कार्यक्रममा उनले स्व निधि नेपालको प्रजातान्त्रिक आन्दोलनमा इतिहासकै एक ‘निधि’का रुपमा रहेको बताईन् ।

स्व निधि नेपालको प्रजातान्त्रिक आन्दोलनका ‘युग पुरुष’ भएको उल्लेख गर्दै उनले जनताको हकअधिकार प्राप्तिमा सधैँ अग्रपङ्क्तिमा रहेर लडेका निधिले प्राप्त प्रजातन्त्र, जनताको हकहितको संरक्षण एवं संवद्र्धनमा समेत आफूलाई समर्पित गरेको बताइन्। राष्ट्रपतिले पद र पार्टीभन्दा माथि देश र जनालाई ठूलो ठान्ने स्व निधिका मूल्यमान्यता अनुकरणीय र अनुसरणीय रहेको बताउदै विचारअनुरसारको व्यवहार र वचनअनुसारको कर्मको विशिष्ट प्रतिबिम्बका रुपमा रहेका स्व निधिबाट अहिलेका राजनीतिक पुस्ताले समेत सिक्नुपर्ने बताइन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीले स्व निधिको सम्मानमा स्थापित ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ तथा उनकी धर्मपत्नीको सम्मानमा स्थापित ‘प्रेमसागरीदेवी निधि पुरस्कार’ २०७४ र २०७५ बाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिन् ।

प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले स्व निधिका जीवनका विभिन्न पक्षमाथि अनुसन्धान गरी पुस्तकका रुपमा कृति प्रकाशन गरिने बताए। अहिंसा, शान्ति, लोकतन्त्र, सामाजिक न्याय तथा समुदायकाबीच सद्भावनाका अभियानकर्मी स्व निधिको सम्मानमा २०७० सालदेखि समाजमा जागरण ल्याउन भूमिका खेल्नुहुने विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । प्रतिष्ठान विसं २०५८ मा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस