२ अर्ब सकियो २० वर्षमा, १९ प्रधानमन्त्री फेरिए काठमाडौंको पानी समस्या जस्ताको तेस्तै

0
23

काठमाडौंका जनताको मेलम्चीको पानी पिउने सपना सपनामै सिमित छ। देशमा प्रजातन्त्र आएपछी ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । अझै अन्योलमै छ ।

पछिल्लो समय सुरुङ खनिरहेको इटालियन कम्पनी सिएमसीले पनि गत २९ मंसिरदेखि काम छाडेपछि मेलम्ची ठप्प छ । आयोजना बोर्डले २४ माघमा सिएमसीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरिसकेको छ । सरकार अब मेलम्चीलाई कसरी अघि बढाउने भन्ने अलमलमै छ । राजनीतिक दलहरुले मेलम्ची आयोजनालाई खाली चुनावको मुद्धा मात्र बनाएका छन् । काठमाडौंका जनता काकाकुल भएर मेलम्ची पानीको पर्खाईमा छन् तर सरकारले भने किन यसलाई चासो दिएको छैन बुझ्न सकिएको छैन ।

आयोजनामा अहिलेसम्म ४२ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सुरुङमार्ग निर्माण र सुन्दरीजल प्रशोधन केन्द्र निर्माणमा मात्रै २६ अर्ब ५४ करोडभन्दा बढी लागेको सूचना अधिकारी पन्तले बताए । मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीका अनुसार अहिलेसम्म करिब १६ अर्ब रुपैयाँ उपआयोजनाले खर्च गरेको छ । जसअन्र्तगत एक हजार किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ । गुह्येश्वरीमा प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने ७ करोड ४५ लाख क्षमताका ९ वटा ट्यांकी निर्माण भइसकेका छन् । मेलम्चीमा खर्च भएको रकम एडिबी, नेपाल सरकार र जापान सरकारको हो ।

०७३/७४ पछि भने आयोजनाको काम रफ्तारमा अघि बढेको छ । ०७४/७५ मा सबैभन्दा धेरै ७.१५ किलोमिटर सुरुङ खनिएको थियो भने ०७५/७६ मा १८.३ किलोमिटर सुरुङको फिनिसिङ गरिएको थियो । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार पानी ल्याउने हिसाबले आयोजनाको काम ९७ प्रतिशत सकिएको छ ।

प्रतिक्रिया दिनुहोस