राष्ट्रपति र बेलायती रक्षा राज्यमन्त्रीबीच भेटवार्ता,ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको बेलायती रक्षामन्त्रीलाई ज्ञापनपत्र : सुगौली सन्धिमा खोसिएको नेपालको जमीन फिर्ता होस

0
16

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टरले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटका अवसरमा नेपाल र वेलायत सरकारको उच्च पदस्थ अधिकारीहरु सहभागी थिए । यसअघि बिहीबार बेलायती राज्यमन्त्री ल्यांकास्टरले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

आजै रक्षा राज्यमन्त्री मार्क ल्याङ्केस्टरलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक ज्ञापनपत्र बुझाउँदै सुगौली सन्धिमा नेपालबाट बेलायतले खोसेको भूभाग फिर्ता गर्न माग राखेको छ । नेपाल-अंग्रेज युद्धपछि भएको सुगौली सन्धिमार्फत नेपालबाट एक चौथाई भूभाग अंग्रेजले खोसेर भारतमा गाभेको थियो ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेत्रित्वले बेलायती दूतावासमा बुझाएको ३ बुँदे ज्ञापनपत्रमा भनिएको छ, ‘सुगौली सन्धिमा नेपालले गुमाएको जमीन फिर्ता लिने कुरा कुनै जटिल समस्या होइन, खाली बेलायतले यो हाम्रो दायित्व हो भन्ने बुझिदिनुपर्छ ।’मेचीपूर्व टिस्टा नदिको नगरकट्टासम्म र महाकाली पश्चिम सतलज नदिसम्म तत्कालिन बेलायती उपनिवेशमा गाभिएको जमिन फिर्ता गर्न माग गरिएको हो । यद्यपि, बेलायतले उपनिवेश भंग गरेपछि उक्त भूभाग अहिले भारतको अधिनमा छ ।

विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘हाम्रो जमिन बेलायतले त्यो क्षेत्र छोडेपछि त्यतिबेलै स्वतन्त्र भयो कि भएन ? के बेलायतले त्यो नेपाली भूभाग भारतका हातमा छोडेर गएको हो ? के उपनिवेश हस्तान्तरण हुन्छ ?’बेलायत सरकारले भारत सरकारलाई नेपालको जमिनमाथि कब्जा अन्त्य गर्न दवाव दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस