एसईईमा साढे ६ लाखले परीक्षा दिँदैः परीक्षा खर्च ५१ करोड, प्रति परीक्षार्थी ७ सय ८५ रुपैयाँ खर्च हुने

0
5

आउँदो चैत १० गते आइतबारदेखि २१ गते बिहीबारसम्म चल्ने यो वर्षको एसईई का लागि यतिबेला परीक्षा नियन्त्रण कार्यालय सानोठिमीलई परीक्षार्थीको रजिष्ट्रेशन गर्ने कामको चटारो परेको छ। परीक्षा नियन्त्रक रामशहरण सापकोटाका अनुसार यतिबेला अनलाइनमार्फत नियमित तर्फका विद्यार्थीको रष्ट्रिेशन गर्ने काम द्रुत गतिमा भइरहेको र हालसम्म ४ लाख विद्यार्थीको रजिष्ट्रेशन दर्ता भइसकेको छ।

यसपाली एसईईमा नियमित तर्फ ५ लाख र ग्रेड बृद्धिका लागि पुरकतर्फ डेढ लाख गरी साढे ६ लाखको हराहारीमा परीक्षार्थी सहभागी हुने सापकोटाले जानकारी दिए। एसईईको ग्रेडिङमा सी भन्दा कम ग्रेड ल्याएका विषयमा विद्यार्थीले पुरक परीक्षा दिन पाउँछन्।

ग्रेड बढाउन चाहने विद्यार्थीले आफुले परीक्षा दिएको वर्षपछि तीन वर्षसम्म पुरक परीक्षामा सामेल हुन पाउँछन्। पुरक परीक्षा, एस ई ईको नतीजा सार्वजनिक भएपछि साउन महिना र नियमित एसईई चल्ने समय चैतमा गरी वर्षमा दुुई पटक दिन पाउने व्यवस्था गरिएको छ। यसपाली २०७२ सालसम्म परीक्षा दिएका परीक्षार्थीले ग्रेड बृद्धिका लागि परीक्षा दिन पाउने छन्।

एसईईको खर्च :
मुलुकमा एसएलसी वा १० कक्षा पासको अन्तिम परीक्षा शुरु हुन थालेको ८५ वर्षको इतिहासमा पहिलो पटक परीक्षा निणन्त्रण कार्यालयको हातबाट खर्च गराउने व्यवस्था हटाइएको छ। यो वर्ष परीक्षाको सबै खर्च राष्ट्रिय परीक्षा बोर्ड मार्फत परिचालन गराइएको छ।

आसन्न एसईईका लागि विद्यार्थीलाई जाँचमा दिइने कापी सहित केन्द्राध्यक्ष, परीक्षा निरीक्षक, सुरक्षाकर्मी परिचालन लगायतको सम्पूर्ण परीक्षा व्यवस्थापनका लागि २८ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ। यो रकम सात वटै प्रदेशमा वितरण गरिएको छ। त्यस्तै नियमित र पुरक परीक्षाको प्रश्न पत्र निर्माण, छपाइ, ढुवानी सहित विद्यार्थी उत्तर पुस्तिका जाँच र नतीजा प्रकाशन र प्रमाणपत्र व्यवस्थापन सम्मको कामका लागि २३ करोड रुपैयाँ बिनियोजन गरिएको परीक्षा नियन्त्रक सापकोटाले जानकारी दिए।

उत्तर पुस्तिका जाँचका लागि मात्रै ११ करोड :
परीक्षामा नियमित र पुरक गरी साढे ६ लाखको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ। ती परीक्षार्थीको उत्तर पुस्तिका परीक्षण र संपरीक्षणका लागि ११ करोड रुपैयाँ छुट्याइएको हो। जाँचकी अर्थात् उत्तर पुस्तिका परीक्षण कर्ताले एउटा उत्तर पुस्तिका जाँचे बापत २० रुपैयाँका दरले पारिश्रमिक पाउने छन्। उनीहरुले दिएको अंक मिले नमिलेको संपरीक्षण गर्नेले प्रति उत्तर पुस्तिकाको ५ रुपैयाँको दरले पाउनेछन्।

समग्रमा परीक्षा व्यवस्थापनका लागि छुट्याइएको २८ करोड र प्रश्न पत्र छपाइदेखि परीक्षण संपरीक्षण, नतीजा प्रकाशन र प्रमाणपत्र व्यवस्थापनका लागि छुट्याइएको २३ करोड गरेर मोटामोटी ५१ करोड रुपैयाँ खर्च हुने भएको छ। परीक्षामा सामेल हुने ६ साढे ६ लाख परीक्षार्थीको हिसाब गर्दा एक विद्यार्थी बराबर ७ सय ८५ रुपैयाँ खर्च हुने देखिन्छ।

श्रोत : हाम्रा कुरा डटकम

प्रतिक्रिया दिनुहोस