टिचिङ हस्पिटलमा इमर्जेन्सी बाहेक सबै सेवा ठप्प

0
38

 

१८ दिनदेखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन जोखिममा परे पनि सरकार गम्भीर नभएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ हस्पिटल)का  रेजिडेन्ट डाक्टरले आन्दोलनको दायरा बढाएका छन्।  आवासीय चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेका छन् । डा. केसी १८ दिन देखि आमरण अनसनमा छन् । उनको स्वास्थ्य नाजुक हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थानमा कनिष्ठ व्यक्ति के पी सिंहलाई डिन नियुक्त गरेसँगै चिकित्सक केसीले सत्याग्रह थालेका हुन्।

वरिष्ठताका आधारमा प्राध्यापक डाक्टर जगदीश अग्रवाल डिन नियुक्त हुनुपर्ने  तर राजनीतिक दलको भागबन्डामा सिंहलाई नियुक्त गरिएको र देशमा व्याप्त मेडिकल माफियाहरूलाई सहयोग गर्न त्रि वि, दलका नेता लागेको केसीले बताउँदै आएका छन्। तीन महिनामात्र सेवा अवधि भएका सिंहको नियुक्ति राजनीतिक स्वार्थका लागि भएको केसीको भनाइ छ ।

संसदमा विचाराधिन चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, मेरिटका आधारमा तोकिएको शुल्कमा मेडिकल कलेजहरूले एमबिबिएस भर्ना लिइनु पर्ने लगायत दस बुँदे माग राखी केसी अनसन बसेका हुन्। विगतमा सत्याग्रह तोडिँदा पटक–पटक सम्झौता भए पनि सरकारले केसीका माग पूरा गरेको छैन।

प्रतिक्रिया दिनुहोस