कांग्रेस नेत्रित्वमामा पुन: कोईराला परिवारको पुनरागमनको चर्चा

0
10

सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट कांग्रेस नेताहरुले एकै ठाउँमा उभिने संकेत गरेका छन् । एकपछि अर्को गर्दै विधानविपरितका गतिविधि सभापतिबाट भएको निष्कर्षमा पुगेका नेताहरु काठमाडौंको मण्डिखाटारस्थित नेतृ सुजाता कोइरालाको घरमा देखिएका छन् । मण्डिखाटारस्थित कोइरालाको निवासमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला सहभागी थिए । पूर्वमहामन्त्री कृष्ण सिटौला भने राजधानीबाहिर भएका कारण सहभागी नभएको बुझिएको छ ।

अहिलेसम्म गुटमा नखुलेका शशांक पनि भेलामा देखिएका छन् । भेलाले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको निष्कर्ष निकालेको छ । छलफलमा सहभागी नेता केसीले पार्टीको आन्तरिक र मुलुकको समसामयिक विषयमा कुराकानी भएको बताए । ‘पार्टीलाई कसरी शसक्त बनाएर लैजाने, विपक्षीको भूमिका कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भयो,’ उनले भने ।

भेलामा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनीत गरेको विषयमा पनि छलफल भएको छ । ‘सार्नै नहुने महासमिति बैठक सारिएको छ, तत्काल नगरे पनि हुने निर्णय चाहिँ गरिएको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘सभापतिजीले पार्टीमा जे मन लाग्यो त्यही गर्ने र हामी मुकदर्शक भएर बस्ने कुरा आउँदैन, त्यसैले अब कसरी अगाडि बढ्ने भन्नेबारे अनौपचारिक रुपमा छलफल गरेका हौं ।’ ती नेताको भनाइलाई मान्दा कांग्रेसमा सभापति देउवाविरुद्ध बलियो गठबन्धन बन्नेवाला छ । 

बलियो गठबन्धनको संकेत
अहिलेसम्म देउवाविरुद्ध नेता पौडेल र सिटौला समूहमात्रै खुलेको छ । महामन्त्री कोइरालाले कतिपय निर्णयको विरोध गरे पनि देउवालाई फाल्नुपर्छ भन्दै हिँडेका छैनन् । सिटौला कतिपय विषयमा पौडेलसँग दूरी राख्छन् । सिटौला र कोइरालाले पनि पौडेल गुट जोइन गरेमा वा सबै मिलेर एउटा गुट बनाएको अवस्थामा देउवाका लागि त्यो ठूलो चुनौती हुनेछ ।

देउवा प्यानलबाट छुट्टिएका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन अहिलेको नेतृत्वको विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए । उनको भनाइमा महामन्त्री कोइरालाले पनि समर्थन गरेका बुझिएको छ । ‘पार्टीलाई सधैं यसरी अलमल्याएर हुँदैन भन्नेमा महामन्त्रीजी र प्रभावशाली नेता शेखरजी पनि सहमत हुनुहुन्छ,’ भेलामा सहभागी एक नेताले भने, ‘अब सबै मिलेर एउटा मोर्चा नै बनाएर पार्टी सुधार अभियानमा होमिने निर्णय भएको छ ।’ उनका अनुसार सिटौलासहित एकचरण फेरि छलफल हुनेछ ।

आसन्न महाधिवेशनलाई प्रभाव पार्ला ?
महामन्त्री कोइरालासँगै पौडेल, सिंह र केसी पनि एकै ठाउँमा उभिने संकेत देखिँदा यसले सभापति देउवालाई झट्का लगेको टिकाटिप्पणी भइरहेको छ । तर,  केन्द्रीय सदस्य महेन्द्र यादवले भने असन्तुष्ट नेताहरुको बैठकलाई ‘स्वार्थ समूहको भेला’को संज्ञा दिएका छन् । ‘कुनै गठबन्धन बन्छजस्तो मलाई लाग्दैन,’ उनले भने, ‘बनिहाले पनि आ–आफ्नो स्वार्थ पूरा हुनेबित्तिकै त्यो टुट्छ ।’

सभापति देउवालाई कमजोर बनाउन खोज्दा पार्टीलाई नै हानी हुने उनले बताए । ‘सभापतिलाई कमजोर बनाउने उहाँहरुको उद्देश्य छ, उहाँहरुले यो भुल्नुहुँदैछ ? सभापति कमजोर भएपछि पार्टी कमजोर हुन्छ, कार्यकर्ता निराश हुन्छन् ।’ गठबन्धन बने पनि आगामी महासमिति बैठक भने प्रभावित नहुने यादवले बताए । बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रस्ताव, आर्थिक नीति प्रस्तावलगायत पेश हुनेछ । ‘महासमिति बैठकमा सबै प्रस्ताव सर्वसम्मतिबाटै हुन्छ,’ उनले भने, ‘विधान संशोधन प्रस्ताव पनि सहमतिका आधारमै पेश हुन्छ, त्यसैले महासमिति बैठक प्रभावित हुँदैन ।’

प्रतिक्रिया दिनुहोस