गच्छदार कांग्रेसका उपसभापति मनोनित, महासमिति बैठक सर्‍यो मंसिर २८ देखि पुस ३ गतेसम्म

0
9

नेपाली कांग्रेसले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस अाैपचारिक रूपमा एकता भएको घोषणा गरेको छ। मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवाले गच्छदारलाई उपसभापति बनाउन प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेसको विधानमा एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था रहेको छ । गच्छदारलाई उपसभापति बनाउदा विधानको यो व्यवस्था मिचिने भएका कारण बाधा अडकाउ फुकाउको प्रयोग गर्दै सभापति देउवाले उपसभापति बनाएका हुन् ।

केन्द्रीय समितिको बैठकले कांग्रेससँग पार्टी एकीकरण गरेको नेपाल लोकतान्त्रिक फोरमका अन्य नेता तथा भातृ संस्थाका नेतालाई समायोजन गर्न विमलेन्द्र निधीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । बैठकले पार्टीको महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ। विधान संशेधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि धकेलिएको हो ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो । तिहार, छठलगायतका चाडपर्वहरू संघारमा अाएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस