प्रधानमन्‍त्री ओली अस्पताल भर्ना, रिपोर्टः छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित

0
33

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखा परेपछि अस्पताल भर्ना गरिएको छ । अचानक धेरै खोकी लागेर छाति दुख्न थालेपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र, खोकीका कारण छातिमा असहजता भएपछि अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल पुर्‍याइएको थियो । उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ, जसअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ । अन्य समस्या पत्ता लगाउन स्वास्थ्य परिक्षणको काम भइरहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखापरेपछि उनी शनिबार आफ्नै पार्टी नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि भएका थिएनन् । त्यस बखत उनलाई रुघाखोकीका साथै ज्वरो समेत आएको थियो । निवासमै बसेर आराम गरिरहेका प्रधानमन्त्री ओलीमा फेरि अचानक छातिमा समस्या देखा परेको हो ।

भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीमा बेला बेला स्वास्थ्य समस्या देखा पर्दै आएको छ । उनले मिर्गौला प्रत्यारोपण पछि निरन्तर औषधि सेवन गरिरहेका छन्। मिर्गौला प्रत्यारोपण गर्ने ब्यक्तिले जीवनभर औषधि खानुपर्छ। मानिसको उमेर र स्वास्थ्य अवस्था अनुसार ‘डोज’ भने फरक–फरक भएपनि औषधी भने खाइरहनु पर्ने चिकित्सकहरु बताउँछन् । मिर्गौला प्रत्यारोपण गरेको ब्यक्ति सधैँ जोखिममा रहने चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस