दशैँमा ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट साँटिने, नोट साट्न बिहान ३ बजेदेखि लाइन

0
9

नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशैंका लागि नयाँ नोट सटही सुविधा खुल्ला गरेको छ । नोट साट्न बिहानैदेखि ठूलो संख्यामा सर्वसाधारण लाइन लागेका छन् । यस वर्ष ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक व्यक्तिले २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । रु ५ देखि एक सय सम्मका नयाँ नोटका लागि १३ अरबको सटही हुने राष्ट्र बैंकले अनुमान गरेको हो । साथै ५ सय र एक हजारका गरी ५८ अरब रुपैयाको नया नोट बैंकहरु मार्फत पेमेन्ट हुने अनुमान पनि गरिएको छ ।सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।

मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालजस्तै यस वर्ष पनि नोट सटहीको व्यवस्था गरिएको जानकारी दिए ।राष्ट्र बैंकले विगतमा जस्तै उपत्यकाभित्र र बाहिर गरी २९ गतेसम्मका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ शाखा कार्यालयबाट सर्बसाधारणले नयाँ नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यस वर्ष राष्ट्र बैंकका कार्यालयबाहेक नेपाल बैंकका न्युरोड, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, लाजिम्पाट र भक्तपुर कार्यालयबाट नयाँ नोट वितरण गरिने छ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, कंलकी र बालाजु शाखाबाट पनि नयाँ नोट साट्न सकिने छ ।

साथै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । यी सबै स्थानबाट अधिकतम प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सकिने व्यवस्था गरिएको छ ।उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट साट्न पाइनेछ । राष्ट्र बैंकका विराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढीमा समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । उपत्यकाबाहिर पनि सहज रुपमा नयाँ नोट वितरण होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस