७ नम्बर प्रदेशको नाम सुदूर पश्चिम राजधानी कैलालीको गोदावरी

0
14

प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिका ४ मा तोक्दै विशेष समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन बुझाएको छ । साउन १४ गते गठित समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका ४ तेघरीस्थित नेपाली सेनाको ब्यारेक पछाडि र नाम सुदूरपश्चिम प्रदेश सिफारिस गरी प्रतिवेदन बुझाएको हो ।

सासंद तारा लामा तामाङको नेतृत्वमा गठित संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो । संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका–४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ । भदौ ५ गते संसदीय समितिले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेपनि झण्डै एक महिनापछि मात्रै प्रदेश सभा बैठकमा पेश भएको हो ।

पेश भएको २४ घण्टापछि मात्रै प्रतिवेदनमाथि सभामा छलफल हुनेछ । प्रदेश सभाका सदस्यले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न सक्ने छन् । प्रदेश ७ को राजधानी यसअघि क्षेत्रीय सदरमुकाम दिपायलमा हुनुपर्ने माग राख्दै पटक–पटक आन्दोलन भएका छन् । यद्यपि, अब कैलालीमै प्रदेशको राजधानी हुने लगभग पक्का–पक्की जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस