भारत-नेपाल पेट्रोलियम पाइपलाइनको काम ६५ प्रतिशत सकियो

0
6

अमलेखगञ्ज-रक्सौल-मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण कार्य ६५ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुमपा लिइएको पाइपलाइन परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको हो । परियोजनाको सिमरास्थित कार्यालयका सिभिल इन्जिनियर प्रवेश थापाले भारततर्फ २७ किलोमिटर र नेपालतर्फ १७ किलोमिटर पाइप विछ्याइसकिएको जानकारी दिए । मोतिहारीदेखि रक्सौलसम्म ३२ किलोमिटर र नेपालतर्फ रक्सौलदेखि अमलेखगञ्जसम्म ३६ किलोमिटर पाइप गाड्नुपर्ने छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र, जितपुर तथा परवानीपुर बजारमा रहेका घर टहरा नहटाइएका कारण काम हुन सकेको छैन भने परवानीपुरदेखि गण्डकचौकसम्म पानी जम्ने समस्या यथावत रहेकोले काम गर्न समस्या छ । डोजरले खन्न नकस्ने ठाउँहरु, क्रसिङहरु, पुल र खोला नदीहरुमा डि्रलिङ गर्नुपर्ने देखिएकोले डि्रलिङ गर्ने मेशिन झिकाइएको परियोजनाका मेकानिकल इन्जिनियर सरद पौडेलले बताए । पौडेलका अनुसार अवस्था सामान्य रहेका ठाउँहरुमा काम सम्पन्न भइसकेको छ । अवरोध भएका ठाउँमा रोकिएको हो, अहिले अमलेखगञ्जस्थित डिपोमा ट्याङकी मर्मतको काम गरिरहेका छौं, डि्रलिङ मेशिन आएपछि थप काम अघि बढ्छ ।

निकुञ्ज क्षेत्रमा काम परियोजनालाई गर्न वन मन्त्रालयले रुख काट्ने स्वीकृति दिएको छैन । जसले गर्दा पथलैयादेखि अमलेखगञ्जसम्म ९ किलोमिटर क्षेत्रमा काम अघि बढ्न नसकेको परियोजनाका अधिकारीहरु बताउँछन् । रुख काट्ने स्वीकृति आउने वित्तिकै रुख काटिने र रुख काटिसकेको १५ दिनमा खाल्डो खनेर पाइप ओछ्याइसक्ने लक्ष्य निर्माण कम्पनीको छ ।

सन् २०१७ डिसेम्बरदेखि शुरु भएको परियोजना डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । १ किलोमिटरमा औसत ५ करोड रुपैयाँ लागत लाग्ने अनुमानसहति भारत सरकारको सहयोगमा परियोजनाको काम अघि बढिरहेको छ । पाइपलाई परियोजना सम्पन्न भएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ भित्र्याउन सकिने दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस