जंगबहादुरको पालाको मुलुकी ऐन विस्थापित, नयाँ मुलुकी ऐन लागू, शुक्रबार देशैभर दीपावली

0
15

जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै नयाँ मुलुकी संहिता २०७४ आजदेखि लागू हुँदैछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गर्दै आजदेखि नयाँ संहिता लागू गर्न लागिएको हो । प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर राणाले मुलुकी ऐन तर्जुमा गरेका थिए । २०२० मा केही संशोधन भएको मुलुकी ऐन १६५ वर्षपछि प्रतिष्थापन हुँदैछ ।

गतसाल संसदले पारित गरेका मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन भदौ १ देखि कार्यान्वयनमा आएका छन् । व्यवस्थापिका-संसदबाट गत वर्ष नै पारित यी ऐनहरू करिब एक वर्षको ‘कुलिङ पिरियड’ पूरा गरेर कार्यान्वयनमा आएका हुन् ।

महान्यायाधिवक्ता कार्यालयले मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको छ । महान्यायाधिवक्ता कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधिधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भदौ १ गतेदेखि लागू हुन लागेको सन्दर्भमा पहिलो दिन देशव्यापीरूपमा दीपावली मनाउन लागेको उल्लेख छ । 

महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकिल कार्यालय, १८ वटा उच्च सरकारी वकिल कार्यालय, राजधानी काठमाडौँस्थित विशेष सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दीपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सरोकारवालाका बीचमा संहिताका मुख्य विशेषताका बारेमा अन्तक्र्रिया कार्यक्रम गर्न महान्यायाधिवक्ताको कार्यालयले देशैभरका कार्यालयलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस