चर्चमा धर्मगुरुले सात वर्षीया बालिकालाई गरे बलात्कार ,संसारभर १ हजार घटना

0
30

एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३ सय धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन्। संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत प्रतिवेदनले त्यस्ता १ हजार घटना सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा सन् १९४० को दशकयताका घटना विवरण समेटिएका छन् ।

पेन्सिलभेनिया राज्यको बृहत अनुसन्धान समिति ग्रान्ड जुरीले मङ्गलबार जारी गरेको प्रतिवेदनमा हाल वासिङ्टन डिसीका मुख्य पादरीले जानाजान उजूरीहरुलाई ढाकछोप गर्ने गरेको उल्लेख छ । यौन शोषणमा परेका बालबालिकाको वास्तविक संख्या अझ ठूलो हुने अनुमान गरिएको छ किनभने गिर्जाघरका कैयौं गोप्य रेकर्डहरु पहिल्यै नष्ट भइसकेका छन् र कतिपय पीडितले घटना सार्वजनिक गर्न रुचाएका छैनन्, जुरीले भनेको छ ।

अमेरिकी गिर्जाघरमा दुव्र्यवहारका घटना दिनहुँ सार्वजनिक हुन थालेपछि सन् २००२ मा व्यापक सुधारका कार्यहरु अघि सारिएको थियो । पादरीहरुमाथि कानुनी कारबाही हुन सक्ने तथा बाल यौन शोषणमा संलग्न रहेका पादरीलाई त्यस्ता पदबाट हटाउने कडा नियम ल्याइयो । तर वृहत अनुसन्धान समितिले अझ बढी परिवर्तनको आवश्यकता औंल्याएको छ ।

“केही संस्थागत सुधारका बाबजूद गिर्जाघरको नेतृत्वमाथि सार्वजनिक जवाफदेहीता थिएन,” वृहत अनुसन्धान समितिको ९०० पृष्ठ लामो प्रतिवेदनमा लेखिएको छ । “पादरीहरुले ससाना बालक र बालिकालाई बलात्कार गरिरहे, माथिल्ला पादरीहरुले यस्ता घटनामा संलग्नमाथि कारबाही गर्नुको साटो उल्टै उजूरी र गुनासा नै लुकाए, र घटनालाई ढाकछोप गरिदिए ।” गिर्जाघरका उच्च पदाधिकारीहरु संरक्षित थिए र कतिपय नामै किटेर दिइएका व्यक्तिको पदोन्नति भयो, ग्रान्ड जुरीले भनेको छ । प्रतिवेदनको अन्त्यमा भनिएको छ, “रोमन ईसाइ गिर्जाघरका यौनकाण्ड सम्बन्धी घटनाको अध्ययन अहिल्यै बन्द गर्नु चाँडो हुनेछ ।”

पादरीहरुले ससाना बालक र बालिकालाई बलात्कार गरिरहे, माथिल्ला पादरीहरुले यस्ता घटनालाई ढाकछोप गरिदिए

प्रायः सबैजसो घटनामा, अनुसन्धाताहरुले मुद्दा चलाउन सकिने समय सीमा नाघेको पाएका छन् अर्थात् फौजदारी अभियोग दर्ता गर्न सकिन्न । एकसय भन्दा बढी धर्मगुरुहरुको मृत्यु भइसकेको छ । धेरै अरुहरु अवकाश भइसकेका छन् वा पादरीबाट बर्खास्त गरिएको छ वा विदामा बस्न बाध्य पारिएको छ । ग्रान्ड जुरीको अनुसन्धानको नतिजा स्वरुप केबल दुईजनालाई मात्र कारबाही गरिएको छ । प्रतिवेदनमा समेटिएका केहीमाथि कारबाही भइरहेको छ ।

महान्यायाधीवक्ता जोस शापिरोले अनुसन्धानको कार्य जारी रहेको बताए । पेन्सिलभेनिया राज्यका मुख्य गिर्जाघरहरु एल्लेनटाउन, एरी, ग्रीन्सबर्ग, ह्यारिसबर्ग, पिट्सबर्ग र स्क्रान्टनमा जुरीले विशेष अनुसन्धान केन्द्रित गरेको थियो । पेन्सिलभेनियामा करिब १७ लाख इसाईको बसोबास रहेको छ ।

म्यासाचुसेट्सस्थित अनुसन्धान तथा पैरवी संस्था बिसपएकाउन्टीबीलीटी डट ओआरजीका अनुसार, आजसम्म संयुक्तराज्य अमेरिकामा इसाई गिर्जाघरको बारेमा कुनै न्यायाधिकारी वा ग्रान्ड जुरीले अनुसन्धान गरेको यो नवौं घटना हो । वृहत अनुसन्धान समितिले दर्जनौं प्रत्यक्षदर्शीसँग बयान लिएको थियो भने पाँचलाख भन्दा बढी पृष्ठ आन्तरिक दस्तावेजको अध्ययन गरेको थियो । जुरीले पादरीहरुले भ्याटिकनका अधिकारीलाई पठाएका प्रतिवेदनको पनि अध्ययन गरेको थियो ।

इसाई धर्मगुरुहरुले खराब प्रचार र वित्तीय दायित्वबाट गिर्जाघरहरुलाई अलग्गै राख्ने कोशिश गरेका थिए । नेतृत्वले आरोपित गुरुहरुका बारेमा प्रहरीमा जानकारी नगराएको, पीडितलाई चुप लगाउन गोपनीय सम्झौताको प्रयोग गर्ने गरेको तथा दुर्व्यवहारमा नाम मुछिएका गुरुहरुलाई तथाकथित उपचार केन्द्रमा पठाएको पाइएको छ, प्रतिवेदनमा भनिएको छ । वृहत अनुसन्धान समिति समक्ष बयान दिने पीडितहरुले प्रतिवेदन सार्वजनिक भएकामा खुशी व्यक्त गरेका छन् ।

समाचार श्रोत :एपी
तस्बिर श्रोत : वेब

प्रतिक्रिया दिनुहोस