बस्ती उठाउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

0
44

सरकारले ०३१ सालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनासहित जग्गा अधिग्रहण गर्‍यो । सरकारले ३२ सय रोपनी जग्गा अधिग्रहण गर्दा एउटा गाउँ नै विस्थापित हुन पुग्यो । त्यसमध्येका एक थिए, चेतबहादुर खत्री । विमानस्थल बनाउन त्यति जग्गाले नपुग्ने भएपछि सरकारले दोस्रोपटक ०७१ सालमा फेरि ५ सय २५ रोपनी निजी जग्गा अधिग्रहण गर्दा उनी दोस्रोपटक विस्थापित भए । त्यति जग्गाले पनि नपुग्ने भन्दै सरकारले फेरि जग्गा अधिग्रहणको पत्र पठाएको छ ।

साविकको छिनेडाँडा गाउँ पञ्चायत वडा नम्बर १ देखि ३ सम्म पर्ने पूर्वतर्फको सिमानाबाट ४ सय मिटर र दक्षिणतर्फको तारबारबाट ४० मिटर दक्षिण पूर्वी क्षेत्रमा एक किलोमिटर अधिग्रहण हुने भएपछि उनी फेरि पनि विस्थापित हुने भएका छन् । खत्रीमात्रै होइन, त्यहाँका थुप्रै स्थानीय एउटै आयोजनाका लागि पटकपटक विस्थापित हुनुपरेको छ । सरकारले फेरि अधिग्रहण गर्ने भनेको ठाउँमा ६० भन्दा बढी अहिले नयाँ घर निर्माणाधीन छन् । केही परिवार भर्खरमात्र निर्माण सम्पन्न गरी घरमा बस्न सुरु गरेका छन् ।

विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्नुपर्ने र त्यसको सर्भेका लागि वडामा चिठी पठाएपछि स्थानीयको निद्रा हराएको हो । एयरलाइन्स कम्पनीहरुका लागि ह्यांगर, आयल, डीपो, ग्लाइड पाथलगायत पूर्वाधार बनाउनुपर्ने भएकाले थप जग्गा अधिग्रहण गर्नुपर्ने विमानस्थल आयोजना प्रमुख विनाश मुनकर्मीले जनाएका छन् । आयोजनाले थप जग्गा अधिग्रहणका लागि सर्भे गर्न आवश्यक समन्वय गरिदिन साउन २१ गते वडालाई पत्र काटेको छ । विमानस्थल निर्माण पक्का भएसँगै एकैचोटी चाहिने जति जग्गा अधिग्रहण गर्नुपर्ने थियो । तर, पटक–पटक जग्गा अधिग्रहण गर्ने सरकारको बचपनाले पीडा खेप्नुपरेकोमा स्थानीय आक्रोसित छ ।

प्रतिक्रिया दिनुहोस