वर्षाले मुलुकभरमै खतरा गुडिरहेको बस बगाउँदा १२ यात्रु घाइते

0
31

लगातारको वर्षाले मुलुकभरकै जनजीवन अस्तव्यस्त बनाएको छ। आइतबारमात्रै एक दर्जन मानिसको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका छन् । नदी, नालामा पानीको सतह बढ्दा बस्ती नै जोखिममा परेको छ। गुडिरहेको बस समेत बगाउँदा पानीको बहाव मापन गर्न कठिनाइ भएको छ।

बाढी पूर्वानुमान शाखाले देशैभर मध्यम बर्षाको सम्भावना औंल्याउँदै सतर्क रहन आग्रह गरेको छ। सोमबार प्रायः नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानूमान शाखाले गरेको छ। कन्काई, कमला, बागमती लगायतमा बहाब सोमबार दिउंसोसम्म सतर्कता आसपास हुने संभावना रहेको शाखाले जनाएको छ।

दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहन समेत आग्रह गरिएको छ। बागमती तराइको क्षेत्रमा दिउँसो २ बजेतिर सतर्कता तह नजिक पुग्न सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ।

काठमाडौं उपत्यकामै खतरा
काठमाडौं उपत्यकामा समेत सचेत रहन आग्रह गरिएको छ । बाग्मती–खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको जनाइएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा बहाब बढ्दो रहेको शाखाले जनाएको छ। शाखाले होचो क्षेत्रमा डुवान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले खतरामा परेको छ।

भक्तपुरको मध्यपुरथिमिस्थित राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ। आइतबार ७० घर डुबानमा परेका थिए भने सोमबार बिहान पनि डुबानमा परिने डरले स्थानीय त्रसित भएका छन्। केही घरहरु हनुमन्ते खोलाले डुबाएको छ। तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् ।

धनगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–लमही सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस