दुर्गा प्रसाईंलाई कारबाहीको माग संसदमा उठ्यो

0
13

प्रमुख विपक्षी नेपाली कांग्रेसका तीन सांसदले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन् । प्रसाईंले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको उल्लंघन गरेको उनीहरुको दाबी छ ।

‘स्वदेशमा मेडिकल शिक्षा आर्जनको यथोचित व्यवस्था नहुँदा रहर वा बाध्यताले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न बाध्य हाम्रा चेलिवेटीहरुप्रति प्रसाईंले दिएको अभिव्यक्तिले उनीहरुको इज्जत, मान र प्रतिष्ठामाथिमात्र धावा बोल्ने काम भएको छ’ प्रस्तावमा उल्लेख छ । प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यवहार हुने गरेको अभिव्यक्ति दिएका थिए ।

यता गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले नेपाली छात्राहरुमाथि अपमानित हुने गरी अभिव्यक्ति दिने बिएन्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाही गर्न माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्ने सांसदले नेपाली विद्यार्थीमाथि आपत्तिजनक र अपमानित हुने गरी अभिव्यक्ति दिने प्रसाईंलाई कारबाहीको माग गरेका हुन् ।

कांग्रेस सांसद ओमकला गौतमले प्रसाईंको आपत्तिजनक अभिव्यक्तिले नेपाली चेलीको मनोबल गिराउने काम गरेको बताइन् । ‘बंगलादेश पढ्न गएका नेपाली चेलीलाई अपमानित र मनोबल गिराउने गरी अभिव्यक्ति दिने प्रसाईंलाई किन कारबाही गरिएन?’ गौतमले प्रश्न गरिन्, ‘त्यही अभिव्यक्ति दिँदा कानुनमन्त्रीलाई कारबाही हुँदा प्रसाईंलाई नहुने ? प्रसाईंलाई पनि कारबाहीको दायरामा ल्याउन प्रदेश सरकारमार्फत माग गर्दछु ।’ अर्की सांसद सरिता गुरुङले प्रसाईंको अभिव्यक्तिमाथि आपत्ति जनाइन् । ‘बंगलादेश पढ्न जाने विद्यार्थीमाथि दिइएको अभिव्यक्तिप्रति घोर भत्सना गर्दछु,’ गुरुङले भनिन्, ‘यो अभिव्यक्तिले नेपाली चेलीमाथि कालो धब्बा लागेको छ । इज्जतमाथि नै दाग लगाउने काम भएको छ ।’
आइतबारको संसद बैठकमा सांसद राजीव पहारीले प्रदेशभित्रकै ठूलो अस्पतालमा सिटिस्क्यान र एमआरआई नहुँदा विरामीले सास्ती खेप्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस