डा. केसीको स्वास्थ्य अवस्था नाजुक-वार्ता सम्बन्धनमा अड्कियो

0
21

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ ।डा. केसी अनसन बसेको बुधबार २६ दिन पुगेको छ ।‘आज उहाँको रगतमा सुगरको मात्रा पनि धेरै कम भएको देखिएको छ । रगतमा चाहिने पोल्सियम तत्व पनि न्यून छ’, केसीको स्वास्थ्य अवस्थालाई नियालिरहेका चिकित्सकहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले गर्दा कुनै पनि वेला मुटुको धड्कनमा समस्या आउन सक्छ ।’ ‘उहाँको मुटुको चाल पनि अस्थिर छ । कुनै पनि पनि वेला गम्भीर समस्या आउन सक्छ’, चिकित्सकहरुले भनेका छन् ।

डा. केसीको मागको विषयमा सरकारसँग वार्ता भइरहे पनि सहमति हुन सकेको छैन । सहमतिको अन्तिम विन्दुमा पुगेको भनिएको डा. गोविन्द केसी र सरकारी पक्षबीचको वार्ता एक घण्टाका लागि स्थगित भएको छ । दिउँसो साढे १ बजेबाट चलेको वार्ता सवा ४ बज्नैलाग्दा स्थगित भयो । केही कुरा अझै मिल्न बाँकी छ । वार्ता फेरि हुने भनिएको छ ।

केही महत्वपूर्ण विषयमा कुरा मिल्न बाँकी रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहोनीले बताएका छन् । डा. लोहनी माथेमा कार्यदलमा समेत सदस्य थिए । उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने डा. केसीको मुख्य माग संवोधन कसरी गर्ने भन्ने विषयमा लामो छलफल भएपनि सहमति जुटेको छैन । यही विषयमा कुरा अड्किएको बताईएको छ ।

यस्तै, एउटा विश्वविद्यालयले पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने भन्ने विषयमा समेत अन्तिम टुंगो लागेको छैन । वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् । डा. केसीका तर्फबाट डा जीवन क्षेत्री, डा. अभिषेक सिंह, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल र सुमित पाण्डे छन् ।

प्रतिक्रिया दिनुहोस