परिवर्तनको नेत्रित्व नेपाली काँग्रेस, बिधानमा लेख्ने नेकपा

0
23

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विधानमै झुठको खेती गरेको छ। नेकपाले पार्टीको अन्तरिम विधानमा झुठका पुलिन्दाहरु भरिएका छन्।

पार्टीको अन्तरिम विधानको प्रस्तावनामै ०६२–६३ को आन्दोलनको नेतृत्व नेकपाले गरेको उल्लेख छ। भनिएको छ –शान्तिपूर्ण जनआन्दोलन र संसदीय संघर्षको बाटोबाट अघि बढेको नेकपा एमाले र जनयुद्धको बाटोबाट अघि बढेको नेकपा माओवादीको पहलकदमी र नेतृत्वमा सम्पन्न ०६२–६३ को जनक्रान्तिबाट राजतन्त्रको अन्त्य गरी सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिकता जस्ता विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको छ।

सर्वप्रथम त अहिलेसम्मका जति पनि आन्दोलनहरु भएका छन् ती सबै नेपाली काँग्रेसको नेतृत्वमा भएका हुन्। चाहे २००७ सालको प्रजातन्त्र, ०४६ सालको आन्दोलन वा ०६२–६३ को दोस्रो जनआन्दोलन। नेकपाले प्रस्तावनामै आफूहरुको नेतृत्व भन्न भ्याएर झुठको पुलिन्दा खोलिसकेको छ। काँग्रेसको नेतृत्व नभएको भए र गणतन्त्रका लागि अग्रणि भूमिका नखेलेको भए २४० वर्ष लामो राजतन्त्र फालिने थिएन। एउटा सत्य के हो भने जनआन्दोलन सफल पार्न र राजतन्त्र फाल्नका लागि तत्कालीन एमाले र माओवादीको भूमिका पनि अहम् थियो।

प्रस्तावनामा भनिएको छ – शोषण, उत्पीडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्नु, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरुलाई समाप्त पार्नु र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्नु यस पार्टीका तात्कालिक कार्यभार हुन्।

के यी कार्यभार दुवै पार्टीले पूरा गरेका थिए त। के अहिले शोषण र उत्पीडन अनि साम्राज्यवादी सोच सकिएको छ त ? अहिले प्रतिपक्षीहरु आरोप लगाउन थालेका छन् कि साम्राज्यवादी झन् हावी भयो। सर्वसत्तावादी हावी भयो। अधिनायकवाद हावी भयो। विधानले यो त बोलेको छैन।

अहिले नेकपा सरकारमा छ। तर प्रस्तावनामा राखिएका शब्दहरुको संयोजनले सरकारको काम कर्तव्यलाई कतै पनि छुँदैन। पहिलो वाक्यमै यो सर्वहारा श्रमजीवी वर्गका जनताको राजनीतिक संस्था हो भनिएको छ। तर अहिले श्रमजीवीहरु सबैभन्दा बढी पीडित छन्। सरकार संचालन गरेको पाँच महिनाको अवधिमा कहीं कतै पनि सरकारले श्रमजीवीको हक अधिकारका लागि कामको थालनी गरेको पाइँदैन।

किसानका हकमा कुनै पनि भूमिका निभाएको पाइँदैन। कृषिप्रधान देशमा त्यही किसिमको योजना हुनुपर्ने थियो। हुचवामा पैसा छर्ने नीति छ तर व्यवस्थित नीति देखिँदैन। यदि त्यसो हुँदो हो त कुनै पनि किसानले मूल्य नपाएर गोलभेँडा सडकमा फ्याल्नु पर्ने थिएन र दूध नबेचेर बाटोमा पोख्नु पर्ने थिएन। सम्पूर्ण जाति र भाषा एवं संस्कृतिका जनसमूदायको हितलाई प्रतिनिधित्व गर्दछ भनिएको छ तर पार्टीले भाषामा समान अवसर दिएकै छैन। सबै जातिलाई बराबर दृष्टिकोणले हेरेकै छैन। अनि सांस्कृतिक धरोहरहरु धमाधम मेटिँदै गइरहेका छन्।

संस्कृतिसंग धर्म पनि जोडिएर आउँछ। प्रस्तावनाले धर्मको बारेमा बोल्दा विवादमा आइने हो कि जस्तो गरी शब्द राख्न पनि कन्जुस्याईं गरेको छ।एकातिर समाजवादको रटान, अर्कातिर प्रजातन्त्रको समेत भरपूर जिकिर गर्ने नेकपाले प्रस्तावनाको माथि जनताको बहुदलीय जनवाद अवलम्बन गर्दै आएको भनेको छ भने अर्कातिर जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुगिनेछ भनेको छ।

यसले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचका विवादका चिराहरु धेरै रहेको संकेत गर्छ। तर महाधिवेशनले टुंगो लगाउने भनेर भन्नुअघि नै प्रस्तावनामा जनताको बहुदलीय जनवाद भनेर राख्नु अर्को झुठको पुलिन्दा हो। यसले अलमलमा पारेर कार्यकर्ताको भावनालाई गोलमटोल पार्ने काम गरेको छ। २०७७ को जेठभित्रै महाधिवेशन गरिने भनिएको छ। प्रस्तावनाको भाषानुसार पार्टीको सिद्धान्त स्पष्ट छैन।
श्रोत: हाम्रा कुराबाट

प्रतिक्रिया दिनुहोस