प्रधानमन्त्री ओलीलाई देउवाको चेतावनी– यस्तै व्यवहार रहे अझ कडा आन्दोलन

0
15

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर यस्तै व्यवहार जारी रहे झनै कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

प्रहरी र तरुण दलका कार्यकर्ताबीच बानेश्वरमा भएको झडपपछि देउवाले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेर शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए । आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान भएको बताउँदै देउवाले डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न आग्रह गरेका थिए ।

उनले सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गर्ने चेतावनी दिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

 

यस्तो छ कांग्रेसले जारी गरेको विज्ञप्ति 

प्रेस विज्ञप्ति

नयाँ वानेश्वरमा आज नेपाल तरुण दलको प्रदर्शन माथि अधिनायकवाद उन्मुख सरकारको अन्धाधुन्ध आक्रमणको लगतै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई भेट्न सोझै बालुवाटार पुग्नु भएको थियो । 

बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिनु भएको थियो । आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा. गोविन्द के.सी.सँग तत्कालै वार्ता गर्न सुझाव समेत दिनु भएको थियो । यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी पनि उहाँले दिनु भयो । 

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

त्यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्ति यस्तो छ 
श्रावण ५, २०७५

प्रेस विज्ञप्ति

    अधिनायकवाद उन्मुख सरकारद्वारा शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा भएको अन्धाधुन्द आक्रमणलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ । नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक भएको आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएका छन् । प्रहरी दमनको लगतै सभापति शेरबहादुर देउवा एवं नेता रामचन्द्र पौडेलले अस्पताल पुगेर घाइतेहरुको स्थिति बुझ्नुका साथै आन्दोलनकारीहरुको हौसला बढाउनु भएको थियो । 

    एकातर्फ संसदलाई छलेर ८ दिनपछि सार्ने अनि अर्कातर्फ सडकको प्रदर्शनमा पनि दमन गर्ने सरकारका विरुद्ध झनै एकतावद्ध ढंगले उभिनु पर्ने आवश्यकता हामीले महसुस गरेका छौँ । 

नेपाली कांग्रेसको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान हो भन्ने विषयमा हामी प्रष्ट छौँ । त्यसलाई हुबहु विधेयकका रुपमा ल्याउनु नै डा. गोविन्द के.सी.ले जारी राख्नु भएको अनशनको समाधान हो भन्ने कुरा जगजाहेर छ । अनशनको तेस्रो साता पूरा भैसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उहाँको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनुलाई अत्यन्तै गैर जिम्मेवार प्रवृत्ति ठहर गर्दै घोर भत्र्सना गर्दछौं । 

चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा हाम्रो आन्दोलन जारी छ । सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी दिन चाहन्छौँ । 

    विश्वप्रकाश शर्मा

    प्रवक्ता

प्रतिक्रिया दिनुहोस