चिकित्सक हडतालमा, आजदेखि आकस्मिकबाहेकका सेवा बन्द

0
16

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् । १४ दिनदेखि डा. केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्षसँग वार्ता हुन सकेको छैन । बरु उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । सरकारले बुधबार उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि त्यो असफल भएको थियो ।

यहीबीच, त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले अाजबाट अाकस्मिकबाहेकका सेवा ठप्प पार्न लागेकाे हाे । एनअारडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठाेर बाटाे राेजेकाे जनाएको छ । ‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, एनआरडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’

एनआरडीएले यसबाट हुने क्षति र असुविधाप्रति संगठन नभएर सरकार जिम्मेबार हुने समेत विज्ञप्तिद्वारा स्पष्ट पारेको छ । यता सरकारले नेपाल मेडिकल एसोसिएसनले सहयोग नगरेका कारण डा केसीलाई काठमाडौं ल्याउन नसकेको आरोप लगाएको छ । हुनत डा केसीलाई मेडिकल एसोसिएसनको सहयोग नै भएन भन्नु गलत हो । राज्यले चाह्यो भने तत्काल ल्याएर उपचार गर्न सक्छ । यसबारे एसोसिएसनका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सरकारले एसोसिएसनबाट के सहयोग खोजेको हो भनी प्रश्न गरे ।

उनले भने, ‘वार्ता कमिटि बनाउने हो भने डा. केसीलाई ल्याउन जान्छौं भनेर भनेका थियौं सरकारले टेरेन । अरुलाई दोष लगाएर सरकार पन्छिएको छ । नियत ठीक नभएको पाइयो ।’ डा श्रेष्ठले भने, ‘१५ औं पटकसम्म एउटै मागलाई लिएर आमरण अनसन बस्नुपर्ने अवस्था आउनु जत्तिको दुर्भाग्य के हुन सक्छ ?’

प्रतिक्रिया दिनुहोस