मुग्लिन- नारायणगढ सडकखण्ड सधैं पहिरो र जोखिम

0
16

वर्षासँग झरेको पहिरोले मुग्लिन- नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान पौने चार बजे घुमाउनेमा ठूलो पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

सो स्थानमा पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने समेत समस्या भएको एसपी सुशीलसिंह राठौरले बताए । ‘पानी केही कम हुनासाथ पहिरो हटाउन थाल्छौं, प्रहरी, उपकरण र आयोजनाका कामदारहरु सो स्थानमा पुगिसकेका छन्,’ एसपी राठौरले भने, ‘पहिरो हटाएर सडक सञ्चालन गर्न ११-१२ बज्छ होला ।’घुमाउनेको अलवा जलविरे, तोपेखोला लगायतका केही स्थानमा पनि साना-साना पहिरो खसेर सडकमा थुप्रिएको छ । त्यसलाई समेत हटाउने काम भैरहेको एसपी राठौरले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा रात्रि यात्रामा रहेका यात्रुहरु बीच बाटोमा नै रोकिएका छन् । जतिसक्दो छिटो सडक खुलाएर ति यात्रुहरुलाई पठाउने काम गर्ने एसपी राठौरको भनाइ छ । वर्षा लागेसँगै मुग्लिन-नारायणगढ सडकखण्डमा पटकपटक पहिरो गएर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुहरु १० घण्टासम्म जाममा बस्न बाध्य छन् ।मुग्लिन-  नारायणगढ सडक आयोजनाले अहिले वैकल्पिक सडक प्रयोग गर्न भनेको छ । सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँठाउँमा पहिरो खसेका हुन् ।

प्रतिक्रिया दिनुहोस