प्रदेश प्रमुखहरु पदमुक्त हुने भए प्रदेश प्रमुखबाट सपथ खाएका प्रदेश सांसद अवैध हुने कि न हुने ?

0
10

सरकारले भदौ १४ पछिका निर्णयहरु बदर गरेर राजनीतिक द्वन्द्व निम्त्याउन खोजेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ । नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने वर्तमान सरकारको निर्णय कानून उल्लघंन र निर्णय बदनियतपूर्ण रहेको बताएको छ । कांग्रेसले यसलाई राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको निर्णय भनेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गत भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले यसमा आपत्ति जनाएको हो ।

कांग्रेसले भदौ १४ पछिका सबै निर्णय बदर गर्नुको कारण पनि प्रष्ट पार्नुपर्ने बताएको छ । राष्ट्रियसभाको निर्वाचन परिणाम माघमा आएको र फागुन ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएको बताउँदै कांग्रेस प्रवक्ता शर्माले भने, ‘के आधारमा भदौ १४ पछिको निर्णय बदर गरियो, सरकारले प्रष्ट पार्नुपर्छ ।’

प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा भने ‘अघिल्लो सरकारले गरेको निर्णय संसदबाट निर्वाचित सरकारकै निर्णय थियो । आचारसंहिता जारी भएको समयमा भएका निर्णयहरु पनि निर्वाचन आयोगबाट सहमति लिएर सम्वन्धित वोर्ड, संस्थानमा परिषद्को प्रक्रिया बमोजिम भएका नियुक्तिहरु थिए ।’कांग्रेसले प्रदेश प्रमुखको नियुक्ति बदर हुने भए सिंगो राष्ट्रियसभा र प्रधानमन्त्रीको पदमा समेत प्रश्न उठ्ने दाबी गरेको छ ।

अहिलेका प्रदेश प्रमुखहरु पदमुक्त हुने भए प्रदेश प्रमुखबाट सपथ खाएका प्रदेश सांसद अवैध हुने र तिनले भोट हालेका राष्ट्रियसभा सदस्यहरु पनि अवैध हुने कांग्रेस प्रवक्ता शर्माले तर्क गरे ।

प्रतिक्रिया दिनुहोस