सरकार अधिनायक बन्यो – पूर्व प्रधानन्यायधिश कार्की

0
24

नागरिक समाजका अगुवाहरुले माइतीघर मण्डला लगायतका स्थानमा निषेधाज्ञा जारी गर्नु सरकारको कायरता भएको बताएका छन् । साथै उनीहरुले डा. गोविन्द केसीको अनसन र माथेमा आयोगको उपलब्धी तुहाउन खोजेको आरोप लगाए । पब्लिक डिफेन्स एलाइन्सले मंगलबार पत्रकार सम्मेलन गरी डा. गोविन्द केसीको अनसन, सरकारले तोकेको निषेधाज्ञा र गंगामाया अधिकारीको अनसनबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्व प्रधान न्यायधिश सुशिला कार्कीले बर्तमान सरकारले जनताको बोली नै बन्द गर्न खोजिएको बताइन् । ‘संविधानले भनेको छ, शान्तिपूर्वक भेला हुन पाइन्छ, आफ्नो विचार व्यक्त गर्न पाइन्छ’ उनले भनिन्, व्यक्तिमाथि अन्याय भयो, समाजमाथि अन्याय भयो भने मान्छेले बोल्छ । दुरदराज, जंगलमा गएर बोलेर त हुँदैन । सडकमै आएर बोल्नुपर्छ जहाँबाट सुनिन्छ, त्यही आएर बोल्नुपर्छ । तर सरकार जनतालाई बोल्न पनि नदिएर अधिनायक ल्याउन खोज्दै छ । “

तर, दलहरुले प्रतिपक्षमा बसेको बेला सडकको बार पनि भत्काउने र सत्तामा पुगेपछि अदालत पनि परतन्त्र होस्, कसैले नबोलोस् भन्न चाहेको उनले बताइन् । साथै हिजो पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको र भोलि सरकार छाडेपछि फेरि यही आउनुपर्छ भन्ने नबिर्सन आग्रह गरिन् ।

अभिवक्ता सुरेन्द्र भण्डारीले सरकारले दुई तिहाईको शक्तिलाई उन्मादमा परिणत गरेको बताए । ‘नागरिकसँग डराउने सरकार कायर नै हुन्छ’ उनले भनेका छन्, ‘यस्तो कायर सरकारले मसँग यति मत छ भन्नुको कुनै अर्थ छैन ।’ सरकारका पछिल्ला कदमप्रति नागरिकमा देखिएको असन्तुष्टि विस्फोट भएको अवस्थामा सरकारले थाम्न नसक्ने भन्दै उनले अझै सुध्रने मौका रहेको बताए ।

अधिवक्ता ओमप्रकाश अर्यालले चिकित्सा शिक्षा विधेयकमा सरकारले माथेमा आयोगको प्रतिवेदनमा अस्वीकार गरेको बताउदै अध्यादेशमा भएको १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने, मेडिकल कलेजको आफ्नै अस्पताल हुनुपर्ने, सरकारी कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने जस्ता प्रावधान हटाइएको भन्दै विरोध गरे ।

कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्की, मानवअधिकारकर्मी चरण प्रसाईंलगायतले आमरण अनसनरत गंगामायाको माग सम्बोधन गर्न आग्रह गरेका छन् । दलहरुले गंगामायाको अनसनलाई प्रतिपक्षमा बस्दा मुद्दा बनाउने र सरकारमा गएपछि बिर्सने गरेको कार्कीले बताइन् ।

प्रतिक्रिया दिनुहोस