लगातार पानी पर्‍यो,रोल्पामा सुत्केरीसहित ३ को मृत्यु, धादिङको कृष्णभीरमा पहिरो खस्दा जीप पुरियो

0
28

लगातार परेको पानीले पर्खाल भत्किएर अाएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका-५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । लगातार वर्षा भएपछि सुत्केरीसहित बिहान भान्छा कोठामा आगो तापेर बसिरहेको अबस्थामा पर्खाल भत्किएर उनीहरु पुरिएको प्रहरीको भनाइ छ ।

यस्तै यता पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले परेको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ । विकका अनुसार जीपको केहीवेर अघि उद्दार गरिएको छ । समयमै उद्दार हुन सक्दा कुनै मानवीय क्षति हुन नपाएको सुरक्षाकर्मीहरूले बताएका छन् ।

यसैबीच, दाङमा बाढीले बस बगाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार बबई गाउँपालिका–५ मा रहेको ट्वाँङ खोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको हो । प्रहरीका अनुसार नदीबाट पार गर्दैगर्दा सोमबार बिहान बस बिग्रिएको थियो । त्यहाँ बस अड्किएको केही समयपछि नदीमा पानीको बहाव बढ्दै गयो । र, बस ६ मिटर तलसम्म बगेको थियो । प्रहरीका अनुसार बसमा रहेका दुई जनालाई तत्कालै उद्दार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस