वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन, अन्त्येष्टि भोलि, ७ दिनमै काज किरिया सक्ने

0
33

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर ३५ मिनेटमा निधन भएको हो । अस्पतालले साँझ विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो । पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको उक्त अस्पतालमा उपचाररत थिए । गत हप्ता डा. देवकोटाकै चाहना अनुसार उनलाई गृह जिल्ला गोरखा लगिएको थियो ।

देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ । डा। देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

गएको हप्ता मात्रै उनले गाउँको आफ्नै घरमा प्राण त्याग गर्छु भनेपछि हेलिकोप्टरबाट गोरखा लगिएको थियो । डा. देवकोटा नेपालकै जेठो वीर अस्पतालबाट सबैमाझ चिनिएका थिए । उनले वीर अस्पतालबाट नेपालमा स्नायु शल्य चिकित्सा विस्तार गरेको बताइन्छ । वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरेका उनले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस