काङ्ग्रेस जिल्ला सभापतिहरु हेटौंडामा

0
13

मकवानपुरको हेटौंडामा भोलिबाट सुरु हुने नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको भेलाको तयारी पूरा भएको छ । भेला आयोजक समितिका सभापति एव् मकवानपुर कांग्रेसका जिल्ला सभापति इन्द्र बानियाँले तीनदिन सम्म चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भएको बताए । भेलामा ७७ वटै जिल्लाका सभापति सहभागि हुनेछन् ।

भेलाका लागि टाढा–टाढाका जिल्लाका सभापतिहरु मकवानपुर आइसकेका छन् भने नजिकका जिल्लाका सभापतिहरु मंगलबार बिहानसम्म आइपुग्ने संयोजक बानियाँले बताए ।भेला व्यवस्थापन समितिका अनुसार भेलामा सहभागि हुने सभापतिहरुको आवास, खाना, र भेलाको समाचार प्रसारण गर्न संचार कक्षको समेत व्यवस्थापन गरिएको छ । सभापतिको भेला उद्घाटन अघि हेटौंडामै ‘मेरो रगत कसैको जीवनका लागि’ भन्ने नारासहित रक्तदान कार्यक्रम राखिएको छ । जसमा केन्द्रीय नेताहरुले समेत रक्तदान गर्नेछन् ।

सभापतिहरुको भेलाको पुर्व सन्ध्यामा सोमबारै अपरान्ह नेपाली कांग्रेसले मकवानपुर काङग्रेस पार्टी कार्यलय हेटौडामै केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक सोमबार ४ बजेका लागि बोलाइएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिए । महतका अनुसार बैठकमा भेलाका बारेमा सामान्य छलफल हुने भएपनि कुनै महत्वपुर्ण निर्णय भने गर्ने छैन ।

महासमिति बैठकको पूर्वसन्ध्यामा हुन लागेको जिल्ला सभापतिहरुको यो भेलाको बैधानिक हैसियत केन्द्रीय नेतृत्वलाई सुझाव दिने मात्रै हो । तर, राजनीतिक रुपमा भने यो भेलालाई अर्थपूर्ण मानिएको छ । यद्यपी यो भेलामा मुख्यगरी तीनवटा एजेण्डाका बारेमा छलफल गर्ने तयारी सभापतिहरुले गरेका छन् । तीमध्ये काङ्ग्रेसको विधान संशोधन, संगठन सुदृढिकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा व्यापक छलफल गरी निश्कर्षमा पुग्ने काङ्ग्रेस सभापतिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस