विश्वकपमा आयोजक रसियाको शानदार जित

0
10

उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ । नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १/१ गोल गरे । रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २- ० को अग्रता लियो ।

७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे । रसिया टिमको अगाडि साउदी अरेबिया निरिह सावित भएको थियो । उसले गोलका गतिला अवसरसमेत सिर्जना गर्न सकेन ।

विश्वकप फुटबलको पहिलो खेलअघिसम्म फिफा बरियतालाई आधार मान्ने हो भने रसिया प्रतियोगिताकै सबैभन्दा कमजोर टोली रहेको थियो । यसअघिका आधा दर्जन खेलभन्दा बढी जीतविहीन रहेको थियो । जसले गर्दा टोली निरन्तर आलोचनाका कारण दबाबमा थियो । तर, आयोजक राष्ट्रले तथ्याङ्क विपरित विश्वकपको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को शानदार जीत निकालेको छ ।

प्रतिक्रिया दिनुहोस