म्याच फिक्सिङ प्रकरण : सागर थापासहित ६जनालाई सफाइ

0
25

विशेष अदालतले खेल मिलेमतो (म्याच फिक्सिङ)गरेको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले प्रहरीको दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो ।

२०७२ कात्तिक २४ गते थापालगायत चार खेलाडी र एक पूर्व प्रशिक्षक अन्जन केसी धरौटीमा रिहा भएका थिए । एसियन फुटबल कन्फेडेरेशन (एएफसी)ले थापालगायत खेलाडी तथा प्रशिक्षक केसीले विभिन्न समयमा भएका अन्तर्राष्ट्रिय खेलमा मिलेमतो थरेको भन्दै विवरण नै सार्वजनिक गरेको थियो ।  उनीहरुलाई एएफसीले खेलमा आजीवन प्रतिबन्ध लगाएको छ । प्रहरीले २०७२ असोज २७ गते पक्राउ गरेको थियो । उनीहरुले अफगानिस्तान र बांग्लादेशसँगको खेलमा खेल मिलेमतो गरेका बताइन्छ । त्यतिबेला कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई र अञ्जन केसीलाई खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका थिए ।  

राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर थापाले आरोप लिएर बाँच्न निकै सकस भएको र त्यसबाट सफाइ पाएसँगै राष्ट्रिय टिममा फर्किएर खेल्ने इच्छा बलियो बनेको बताएका छन् ।‘यत्रो वर्ष देशका लागि खेलियो । त्यसमा लडेर आज न्याय पाउँदा खुशी लागेको छ । अब एएफसीमा, फिफामा पनि अपिल गर्नुपर्छ । त्यसपछि राष्ट्रिय टिममा फर्किएर खेल्न सक्छौं’ विशेष अदालत बाहिर भेटिएका उनले सुनाए, ‘अझै पनि राष्ट्रिय टिममा खेल्ने इच्छा छ ।’

‘हामीलाई आफ्ना कुरा बुझाउने अवसर पनि दिइएन । आरोप लाउनु मात्र ठूलो कुरा होइन । आरोप लाग्दैमा अपराधी बनाउनु भएन । अदालतको फैसलासम्म पनि कुर्न नसक्ने ? के भएको हो ? के गरेको हो ? भन्ने सबै कुराको अन्तिम निर्णय र न्याय त अदालतमै हुन्छ नि हैन र ? अहिले त्यो न्याय हामीले पाएका छौं’ विकासले भने, ‘अब भने छाति फुलाएर बाहिर निस्कन सक्ने भएको छु । शीर ठाडो बनाएर हिँड्न सक्ने भएको छु ।’

उनीहरुले अप्ठ्यारोमा परेका बेला साथ दिने समर्थकलाई सम्झिए । उनीहरुलाई धन्यवाद दिए । ‘यो तीन वर्षसम्म हामीमाथि विश्वास गरीदिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छौं । यिनीहरु निर्दोष छन्, फिक्सिङ जस्तो काम गर्नै सक्दैन भन्ने उहाँहरुको विश्वासले बाँच्न सजिलो भयो । उहाँहरुलाई धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस