माफी माग्दै यातायात ब्यावसाहीले सरकारसँग घुडा टेके

0
21

सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले सरकारसामू घुडा टेकेका छन् । सिन्डिकेट यथावत हुनुपर्ने माग राख्दै यातायात बन्दको घोषणा गरेको यातायात व्यवसायी महासंघ त्यसबाट पछि हटेको छ । उसले वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेको छ ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता भएको घोषणा गरेका हुन् । शुक्रबार एक दिन देशभर बन्दको आयोजना गरेका व्यवसायीमाथि सरकार कडा रुपमा प्रस्तुत भएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबारको आन्दोलनमा देशैभरबाट व्यापक मात्रामा व्यवसायी पक्राउ परेपछि शनिबार बिहानै यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिले विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलन फिर्ता भएको घोषणा गरेको हो ।

महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले सार्वजनिक गरेको विज्ञप्तिमा आन्दोलन फिर्ता, यातायात देशभर सञ्चालन गर्ने घोषणा गरिएको छ । सँगै शुक्रबार दिनभर यातायात क्षेत्र ठप्प हुँदा सर्वसाधारणमा पर्न गएको मर्काप्रति विज्ञप्तिमार्फत नै माफी समेत मागेका छन् । शुक्रबार गाडी थन्क्याएर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका सबै पदाधिकारीलाई सरकारले पक्राउ गरेपछि आन्दोलनका कार्यक्रम स्थगीत गर्दै व्यवसायी सरकारसँग झुकेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले गाडी थन्क्याएर आन्दोलन गर्ने व्यवसायीलाई तत्काल पक्राउ गर्न निर्देशन दिए लगत्तै देशभरबाट दुर्इ सय व्यवसायी पक्राउ परेका छन् । सरकारले सार्वजनिक सवारी साधन बन्द गरेर आन्दोलन गर्ने व्यवसायीलाई ६ महिनासम्म जेल राख्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस