बुटवल उपमहानगरमा सडक मिचेका घर भत्काईदै

0
34

बुटवल-बेलहिया ब्यापारिक मार्ग आयोजनाले सडक क्षेत्र मिचेर घर/संरचनाहरु डोजरको प्रयोग गरेर भत्काउन सुरु गरेको छ ।बुटवलको नयाँ बसपार्कबाट सुरु भएको घर भत्काउन तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बैशाख ४ गते आयोजनाले डोजर चलाउन थालेपछि घरधनीले अन्तिमपटकका लागि भन्दै एक हप्ताको समय मागेका थिए । अघिल्लोपटक डोजर चल्न थाल्दा विरोधमा उत्रिएका घरधनीहरु आज भने चुपचाप देखिए । घर भत्किने जानकारी हुँदा पनि व्यवसायीहरु भने पसल सञ्चालन गरेर बसिरहेका थिए । एक्कासी आयोजनाका कर्मचारी सुरक्षाकर्मीलाई लिएर जाँदा व्यवसायीहरु अन्योलमा परेका थिए ।

राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर सडक खण्डमा तीन सय २५ घर सडक क्षेत्र मिचेर बनेका छन् । सडक मिचेर बनेका सबै संरचना हटाउन केही दिन लाग्ने आयोजना प्रमुख जिवेन्द्र मिश्रले बताएका छन् । ४ लेन फराकिलो सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य सुरु गरेपछी घरधनीहरुले विस्तार रोक्न अदालत, सरकार त कहिले दलहरुको शरणमा पुगेर अवरोध सिर्जना गरेका थिए । यो सडकमा २ लेयर अर्थात १० सेन्टिमिटर कालोपत्रे थपिने छ भने दायाँ बायाँ १-१ लेनको सर्भिस लेन र नाली पनि बनाइने छ । कुल ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दायाँ बायाँ साढे साढे १० मिटर चौडाइको मुख्य लेन, त्यसबाहिर ६-६ मिटरको सर्भिस लेन हुने छ ।बाँकी फुटपाथ र नाली हुनेछ ।

३० महिनामा सडक विस्तार सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ । यसको कुल लागत ४२ करोड रुपैयाँ अनुमान गरिएको छ । बुटवल-बेलहिया ६ लेनको सडक निर्माण गर्न हालसम्म निर्माण व्यवसायीहरूलाई ३ अर्ब ७५ करोड भुक्तानी दिइसकेको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरु भएको यो सडकको ११ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ । आर्थिक वर्ष २०७०/७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो । अब ५ अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस